सुरक्षित मातृत्व र बाल स्वास्थ्यमा सहकार्य गर्न एआइआइएमएससँग डा देउवाको आग्रह

144
Shares

नयाँ दिल्ली, २० चैत । प्रधानमन्त्री शेरबहादुर देउवाका धर्मपत्नी डा आरजु राणा देउवाले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एआइआइएमएस)का पदाधिकारीहरूसँग भेट गरी सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न सकिने बताएकी छन् ।

हिजो सो इन्स्टिच्युटको भ्रमणका क्रममा डा देउवाले यस किसिमको ‘डेडिकेटेड’ अस्पताल नेपालमा पनि आवश्यक रहेकाले त्यसका लागि आवश्यक जनशक्ति तयार गर्न र पूर्वाधार निर्माणमा सहयोग गर्नेबारेमा आग्रह गरिन् ।

इन्स्टिच्युटका विज्ञहरूसँगको अन्तक्र्रियामा डा देउवाले नेपालमा पनि एआइआइएमएसजस्ता संस्था स्थापना गरी तिनको संस्थागत विकास गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै यसबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा राख्ने बताए ।

सरकारी र गैरसरकारी निकायको निरन्तर प्रयास हुँदाहुँदै नेपालमा मातृ मृत्युदर र नवजात शिशुको मृत्युदर घटाउन सकिएको भए पनि अझै यो समस्या चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उनले मुलुकको सुदूरपश्चिम क्षेत्रमा यो समस्यामा अझै रहेको देखिएकाले त्यस क्षेत्रमा एआइआइएमएसको सेवा लैजान आवश्यक रहेको बताए।

डा देउवाले तीन दशकदेखि नेपालमा सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएकी छन् । उनले नेपालमा एक चुनौतीका रूपमा देखिएको मातृ मृत्यु तथा शिशु मृत्यु घटाउनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका अभ्यासहरू भित्र्याइ देशका विभिन्न भू–भागमा विशेष अभियान सञ्चालन गर्दै आएकी छन् ।

डा देउवाको आग्रहलाई सहर्ष स्वीकार गर्दै छिट्टै यस सम्बन्धमा आवश्यक पहल सुरु गरिने एआइआइएमएसका निमित्त निर्देशक प्रा डा नीना खन्नाले बताइन् । उनले नेपालकी प्रथम महिला तथा सुरक्षित मातृत्वका क्षेत्रमा लामो अनुभव सँगालेकी डा देउवासहितको नेपाली विज्ञहरूलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै नेपाल सरकारसँग समन्वय गरी यस क्षेत्रमा काम गर्न इच्छुक रहेको धारणा राखे ।

एआइआइएमएसबाट एमबिबीएस र एमडी गरेका प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा रामपदार्थ बिछाले भारत सरकारले विभिन्न १२ राज्यमा एआइआइएमएसको सेवा विस्तार गरेको उल्लेख गर्दै नेपालमा तत्काल एउटै भए पनि एआइआइएमएस स्थापना हुनसके नेपाली जनताका लागि ठूलो सेवा पुग्ने बताए ।

उनले सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा दक्ष जनशक्ति तयार, सामूहिक अनुसन्धान, अनुभव आदान–प्रदान र असल अभ्यासमा सहकार्य गर्न सकिने सम्भावना रहेको बताए।

सो अवसरमा प्रधानमन्त्रीका निजी सचिव प्रकाशबहादुर देउवा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का निजी चिकित्सक डा शैल रुपाखेती, नायब शिष्टाचार महापाल रेवती पौडेल उपस्थित थिए। एआइआइएमएसका मेडिकल सुपरिटेण्डेन्ट डा डिके शर्मा, डा नीरजा भट्ला, डा आरती भिज, डा कालोल रोय, डा नीना मल्होत्रा, डा भात्सला डडवाल, डा गरिमा दड्गवाट र डा अनुप डगालगायतका वरिष्ठ चिकित्सक र अधिकारीहरूको सहभागिता रहेको थियो ।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *