अनलाइन कक्षाले बालबालिकाको आँखामा पार्न सक्ने असर र जोगाउने उपाय

यतिवेला कोरोनाको संक्रमण घटदो क्रममा छ । अनलाइन कक्षा सञ्चालन गरिरहेका विद्यालय तथा कलेजहरुले विद्यार्थीहरुलाई भौतिक रुपमा नै बोलाउने तयारी थालेका छन् । यसअघि भने विद्यार्थीहरुले लामो समय अनलाइन माध्यमबाट कक्षा लिन बाध्य भए ।
मोवाइल, ट्याव र ल्यापटप जस्ता डिभाइस प्रयोग गरी सञ्चालित त्यस्ता अनलाइन कक्षाहरुमा लामो समय सहभागी हुँदा त्यसले आँखा अझ् भनौ दृष्टिमा कति असर गर्यो होला यतिवेला अनुमान गर्न सक्छौँ ।
विश्व दृष्टि सप्ताह २०२१ को अवसर पारी आज म अनलाईन कक्षाले आँखा स्वास्थ्यमा पार्न सक्ने प्रभाव र यसका न्युनिकरणका उपायहरुबारे जानकारी दिने प्रयास गरेको छु ।
किनभने अहिले पनि अधिकांश शहरी क्षेत्रका विद्यालयहरुले पढाई तथा गृहकार्य अनलाइनमार्फत सञ्चालन गरिरहेका छन् ।
कोरोना नियन्त्रण हुँदै गए तिहार तथा छट पछि मात्रै भौतिक रुपमा कक्षा सञ्चालन गर्ने भनेका छन् । तसर्थ मेरा सुझावहरु प्रभावकारी हुन्छन् भन्ने लाग्छ ।
दिनमा ४-६ घण्टाको विद्यालय अनलाईन कक्षा, त्यस पछिको २-३ घण्टाको अनलाईन गृहकार्य तथा नोट बनाउने र केही घण्टाको मोबाइल, टिभी, ल्यापटप जस्ता विद्युतिय उपकरणको प्रयोग गरी औसतमा विद्यार्थीहरुले प्रत्येक दिन ८ देखि १० घण्टा डिजिटल स्क्रिन हेरेर बितउने गरेका छन्। यसरी लामो समयसंग स्क्रिनमा हेरिरहँदा आँखामा विभिन्न प्रकारका तत्काल तथा दीर्घकालीन समस्या देखिन सक्दछन्।
आखाँमा पर्ने तत्कालका असरहरु मध्ये आखाँ पोल्ने, विझाउने, आँसु बग्ने र हेर्न कठिनाई हुने मुख्य हुन्। त्यसैगरी एकनास रुपमा हेरिरहँदा, आखाँको झिम्काई, सामान्य अवस्थामा भन्दा न्यून हुन गई, आखाँ सुक्खा हुने, थाक्ने तथा भारी महसुज हुने हुन्छ। यस्ता स्क्रिनहरुबाट आउने विकिरणले गर्दा निन्द्रामा गड्बडी हुन सक्ने तथ्य पनि विभिन्न खोज अनुसन्धानले देखाइसकेको छ।
विकिरणबाट बच्नको लागि बजारमा धेरै किसिमका कोटेड चस्माहरु पाइन्छन् तर ती चस्माको विद्यालय उमेरका बालबालिकामा उपयोगिता तथा प्रभावकारीता भने अझै अनुत्तरित रहेको छ।
अन्ततः यस्ता विद्युतिय उपकरणमा धेरै नजिक गएर (२० सेमी भन्दा कम) लामो समयसम्म (३ देखि ६ घण्टा) पढ्दा विद्यालय उमेरका बालबालिकामा (३-१२ वर्ष) दीर्घकालीन रुपमा अदुर दृष्टिदोषको जोखिम बढ्न जान्छ।
यसले गर्दा विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्ममा विश्वका आधा जनसंख्यामा अदुर दृष्टि दोषको प्रक्षेपण गरेको भए तापनि अत्यधिक डिजिटल स्क्रिन प्रयोगमा यसको prevalence (व्यापकता) अझै चाँडो देखिन सक्दछ।
यसको समाधानको लागि अब अनलाईन कक्षा नलिने हैन तर व्यवस्थित अनलाईन कक्षा सञ्चालन गर्नु हो। विश्व स्वास्थ्य संगठनले पाचँ वर्ष मुनिका बालबालिकालाई एक घण्टा भन्दा कम समय मात्रै डिजिटल उपकरण प्रयोग गर्ने सल्लाह दिएको छ। यसैगरी पाचँ वर्ष माथिका बालबालिकालागि बारम्बार ब्रेक या विश्राम सहितको निर्देशित समयावधि (दिनमा २ देखि ३ घण्टा) मात्रै प्रयोग गर्नु उचित भनिएको छ।
अनलाईन कक्षा सञ्चालन सम्बन्धि शिक्षक, अभिभावक तथा विद्यार्थीलाई नेपाल दृष्टि विशेषज्ञ संघले तयार गरेको सुझाब, म प्रस्तुत गर्न चाहन्छु।
क) कक्षा सत्र (Period) को सङ्ख्या र समयावधिको हकमा

1. Pre-primary level पूर्व प्राथमिक (१ कक्षाभन्दा मुनिका) तहका विद्यार्थीका लागि एक दिनमा बढिमा ३० मिनेटको मात्र अनलाईन कक्षामा पढाउने
2. कक्षा १ देखि ८ का विद्यार्थीका लागि एक दिनमा ४५ मिनेटको २ वटा कक्षा सत्र वा Period , जम्मा गरी डेढ घण्टाको अनलाईन कक्षामा पढाउने
3. कक्षा ९ देखि १२ का विद्यार्थीका लागि एक दिनमा ४५ मिनेटको ४ वटा कक्षा सत्र वा Period, जम्मा गरी ३ घण्टाको अनलाईन कक्षामा पढाउने
4. कक्षा १२ भन्दा माथिका विद्यार्थीलाई एक दिनमा ४५ मिनेटको ४-५ वटा कक्षा सत्र वा Period , जम्मा गरी ३ देखि ४ घण्टाको अनलाईन कक्षामा पढाउने

ख ) ४५ मिनेटको कक्षामा पालना गर्नुपर्ने सर्तहरु
1. ४५ मिनेटको कक्षालाई २० मिनेटको २ खण्ड गरी पढाउने र बीचमा ५ मिनेटको आरामको लागि विश्राम दिने
2. ५ मिनेटको आराम समयमा पानी पिउने, केहिबेर (२ मिनेट जति ) उभिने, आसन परिवर्तन गरी ३ मिनेट जति यताउता हिंड्ने र ५-१० पटक आँखा झिम्काउने
ग ) अनलाईन कक्षाको लागि आवश्यक वातावरण
1. उज्यालो कोठा (धेरै चम्किलो प्रकाश नभएको)
2. हावा आवतजावत हुने ventilation भएको कोठा
घ)अनलाईन कक्षाको लागि बस्दा हुनुपर्ने आसन बारे
- डिजिटल उपकरण १८ देखि २४ इन्चको दुरीमा राख्ने,
2. कम्प्युटर स्क्रिनलाई आखाँको सतहबाट १५-२० डिग्री तल राख्ने,
3. ढाड सिधा हुने गरी बस्ने या अगाडि कुप्रो नपर्ने
4. बेडमा सुतेर, सोफामा पल्टेर वा धेरै नजिक बाट मोबाइल तथा कम्प्युटर स्क्रिन नहेर्ने
5. आँखामा सिधा बाह्य प्रकाशका किरणहरु नपार्ने
7. प्रत्येक २० मिनेटमा आफ्नो आसनको ख्याल गर्ने र सुधार्ने

आखाँमा समस्या हुन नदिन यस्ता उपायहरु अवलम्बन गर्न सकिन्छ, जस्तैः
1. दिनमा दुई पटक बिहान र बेलुका सफा र चिसो पानीले आँखा पखाल्ने
2. दिनमा कम्तीमा २-३ लिटर पानी पिउने
3. बिहानीपख तातो पानीमा सफा कपडा भिजाई निचोरेर आँखालाई सेक्ने
4. डिजिटल उपकरणको प्रयोग गर्दा प्रत्येक २० मिनेटमा २० सेकेण्डको विश्राम लिने र २० फिट टाढाका वस्तुहरु हेर्ने
5. दुई घण्टाको निरन्तर प्रयोगमा कम्तिमा १५ मिनेटको ब्रेक अनिवार्य लिने,
6. समय समयमा आखाँ झिम्काउने पुरै बन्द गर्ने र खोल्ने प्रक्रिया बारम्बार गर्ने तथा
7. सुत्नुभन्दा कम्तिमा १ घण्टा अगाडि नै विद्धुतीय उपकरण हेर्न बन्द गर्ने
8. AC तथा पङ्खाको हावा आँखामा सिधा अगाडि नपार्ने वा सकेसम्म टाउकोको पछाडि पार्ने
9. आँखाको दृष्टि धमिलो भए तथा टाउको दुख्ने समस्या भए आँखा जाँच गराउने।
यी उपायहरु अपनउँदा अनलाइन कक्षा तथा डिजिटल स्क्रिनबाट आखाँमा पर्ने प्रभाव धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




