मोरङ, महोत्तरी र रुपन्देहीमा गरी थप ३ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौँ, २९ भदौ । मोरङ, महोत्तरी र रुपन्देहीमा गरी थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर–१२ का ७० वर्षीय पुरुष हुन् । आइतबार दिउँसो धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उनको मृत्यु भएको थियो । उनलाई विराटनगरस्थित म्याक्स अस्पतालले प्रतिष्ठानमा रिफर गरेको थियो । उनलाई भदौ १६ गते कोराना पुष्टि भएको थियो । उनलाई पहिलादेखि नै उच्च रक्तचापको समस्या भएको बताइएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या २६ पुगेको छ ।
त्यसैगरी महोत्तरीको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको कोभिड–१९ बाट मृत्यु भएको छ । कोरोना लागेर ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ २२ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको र उनको आइतबार मृत्यु भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा विजय झाले बताए ।
भदौ २२ गते अस्पताल भर्ना भएकै दिन उनको स्वाब सङ्कलन गरी प्रयोगशाला पठाइएकोमा भदौ २४ गते उनी कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको थियो । उनी उच्च रक्तचापका बिरामीसमेत रहेको बुझिएको छ । उनको मृत्युसँगै अब महोत्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जिल्लाका कोरोना फोकल पर्सन गिरेन्द्रकुमार झाले बताए ।
त्यसैगरी रुपन्देही कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुकी कोरोना सङ्क्रमित एक महिलाको आज मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा बिहान ४ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।
यहीभदौ २१ गते गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा मिर्गौलाको डाइलासिस गराउन आएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा लगिएको थियो । उनको आइसियुमा राखेर उपचार भइरहेको थियो । कोरोना विशेष अस्थायी अस्पतालमा आजसम्म १७ जना आइसियुमा र एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । रासस
सम्पर्क इमेल : [email protected]