चार प्रकारका व्यक्तिलाई निशुल्क उपचार दिँदै जिल्ला अस्पताल !

228
Shares

डोटी, ३ पुस । जिल्ला अस्पताल डोटीमा चार प्रकारका व्यक्तिले निःशुल्क स्वास्थ्य उपचार हुने पाउने भएका छन् । अस्पताल व्यवस्थापन समितिको बुधबार बसेको पहिलो बैठकले ज्येष्ठ नागरिक, एकल महिला, ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले भने, “अस्पतालमा उपचार गराउन आउने चार प्रकारका व्यक्तिलाई निःशुल्क उपचार गर्ने निर्णय गरेका छौँ, सम्भवतः यो हाम्रो प्रदेशकै पहिलो निर्णय हो ।” अध्यक्ष जोशीका अनुसार जिल्ला अस्पतालमा उपचार गराउन आउने चार प्रकारका व्यक्तिलाई नाम दर्तादेखि चिकित्सकीय तथा भिडियो एक्स–रे तथा ल्याबमा कुनै पनि प्रकारको शुल्क तिर्न नपर्ने व्यवस्था गरिएको छ ।

सेवा लिन आउने उक्त प्रकारका व्यक्तिले आफ्नो परिचय खुल्ने कागजात भने अनिवार्य ल्याउनुपर्ने भनिएको छ । जिल्ला अस्पतालको स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन अस्पताल व्यवस्थापन समितिले नयाँ चिकित्सक भर्ना गर्ने निर्णयसमेत गरेको छ ।

अस्पतालको विकास तथा थप सुधारका लागि समितिको पहिलो बैठकले महत्वपूर्ण निर्णय गरेको जिल्ला अस्पताल डोटीका नायब सुब्बा लोकेन्द्र विष्टले जानकारी दिए । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको जिल्ला अस्पतालमा अस्पताल व्यवस्थापन समिति आएपछि अवरुद्ध कामले निरन्तरता पाउने भएका छन् ।

जिल्ला अस्पतालले ज्येष्ठ नागरिक, एकल महिला, ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क उपचार गर्ने निर्णय गरेपछि यहाँका स्थानीयवासी खुशी भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *