जनगायक शर्माको छोराको उपचारका लागि सांसदको सहयोग

480
Shares


दमौली, १० कात्तिक । जनगायक जीवन शर्माको छोराको उपचारका लागि तनहुँ क्षेत्र नं १ का सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

जटिल रोगका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माका माइला छोरा अमृत आचार्यको उपचारमा सहयोग गर्ने उद्देश्यले सांसद श्रेष्ठले रु ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।

जनताका पक्षमा गीत गाउने वरिष्ठ कलाकार शर्माको परिवारमाथि आइपरेको विपत्मा साथ दिन एक महीनाको तलबवापतको रकम सहयोग गर्न लागेको सांसद श्रेष्ठले जानकारी दिए ।

“जनगायक शर्माको छोराको उपचारका लागि सरकारले पनि गम्भीर भएर सहयोग गर्नुपर्छ”, सांसद श्रेष्ठले भने, “घोषणा गरेबमोजिमको रकम केही दिनभित्रै उपलब्ध गराउँछु ।” शर्माका छोरा अमृतको घाँटीको नलीमा जटिल समस्या देखिएको छ । जनगायक शर्माले आर्थिक अभावका कारण छोराको उपचारमा कठिनाइ भइरहेको बताए ।

सांसदमा निर्वाचित भएसँगै सांसद श्रेष्ठले आफ्नो तलबवापतको रकम जिल्लास्थित विभिन्न सङ्घसंस्थालाई उपलब्ध गराउँदै आएका छन् । सांसद श्रेष्ठले विभिन्न विद्यालय, आमा समूह, मठमन्दिर, खानेपानी योजना लगायतलाई आफ्नो तलबवापतको रकम उपलब्ध गराएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *