गाँउपालिकाको निर्णय : सर्पदंशका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा
महेन्द्रनगर, ३० असोज । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले सर्पदंशका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।
गाउँकार्यपालिकाको बुधबार बसेको बैठकले गाउँपालिकाभित्रका सर्पदंशका बिरामीलाई उपचार केन्द्रसम्म पु¥याउनका लागि निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको हो ।
“सर्पदंशका बिरामीले समयमै उपचार नपाउँदा ज्याउन जाने समस्या निम्तिन थालेपछि निःशुल्करूपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेका छौँ”, गाँउपालिका अध्यक्ष धनबहादुर थापा क्षेत्रीले भने, “यसबाट सर्पदंश लागेका बिरामीको ज्याउन जोगाउन मद्दत पुग्नेछ ।”
गाउँपालिकामा सर्पदंश उपचार केन्द्र नहुँदा बिरामीलाई टाढाको अर्जुनी, धनगढीलगायतका क्षेत्रमा उपचारका लागि पुग्नुपर्ने बाध्यता रहेको छ । स्रोत व्यवस्थापनको अभावमा गाउँपालिकाले सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न सकेको छैन ।
गाउँपालिकाको केही भाग सिमसार र वनजङ्गलले ढाकिएको हुँदा प्रतिवर्ष यस क्षेत्रमा सर्पदंशका बिरामीको सङ्ख्या थपिदै जाने गरेको छ । रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



