महोत्तरीमा कैदीबन्दीका लागि निःशुल्क आँखा शिविर

104
Shares


जलेश्वर, २२ भदौ । नेपाल नेत्र ज्योति सङ्घ तथा नेपाल रेडक्रस सोसाइटी महोत्तरीले शनिबार जलेश्वर कारागारका कैदीबन्दीका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

गत साउन महीनामा आएको भीषण बाढीमा जलेश्वर कारागार जलमग्न भएकाले विभिन्न रोगको सङ्क्रमण हुनुका साथै आँखासम्बन्धीसमेत समस्या भएपछि कारागार कार्यालय महोत्तरीको आग्रहमा नेत्र ज्योति सङ्घ, नेपाल रेडक्रस सोसाइटीले जलेश्वर कारागारमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको जेलर कन्हैयाकुमार मिश्रले बताए ।

सो शिविरमा १०२ पुरुष र २६ महिला गरी १२८ कैदीबन्दीको आँखाको उपचार गरिएको थियो । उपचारको क्रममा ६१ कैदीबन्दीमा आँखा पाक्ने समस्या, ४२ मा चश्मासम्बन्धी समस्या, सात जनामा मासु पलाएको समस्या, छ जनामा मोतियाविन्दु र १२ जनामा कुनै समस्या नरहेको फेला परेको दृष्टि विशेषज्ञ वीरेन्द्र यादवले बताए ।

आँखा जाँचको क्रममा समस्या देखिएका सबै कैदीबन्दीलाई निःशुल्करूपमै औषधिसमेत दिइएको थियो । साथै मोतियाविन्दु फेला परेका छ र मासु पलाएका सातमध्ये एक गरी जम्मा सात जनालाई नेपाल रेडक्रस सोसाइटी शाखा बर्दिबासमा आइतबार वा सोमबार निःशुल्क शल्यक्रिया गरिने जलेश्वर कारागारका सूचना अधिकारी मकसुदन महासेठले बताए ।

कैदीबन्दीमा बाढीपछि देखिएको आँखासम्बन्धी समस्याको कारागारमै निःशुल्करूपमा उपचार पाएपछि सबै कैदीबन्दी निकै खुशी भएको चौकीदार (मूलकैदी)श्यामसुन्दर यादवले बताए । हाल महोत्तरीको जलेश्वर कारागारमा ४५४ पुरुष, ४५ महिला र चार आश्रित बालबालिका गरी जम्मा ५०३ कैदीबन्दी छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *