करार चिकित्सकको म्याद थप गर्ने स्वास्थ्यको प्रस्ताव सामान्यले त्यसै फर्काईदियो

4.0k
Shares

काठमाडौँ, ९ साउन । असार मसान्तमा सकिएको करारका चिकित्सकहरुको म्याद थप्ने विषय अलमलमा परेको छ । करार चिकित्सकको म्याद थप गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फिर्ता गरिदिएपछि म्याद थपको विषय अलमलमा परेको हो ।

यसअघि सरकारले सामान्यलाई प्राविधिक जनशक्ति करारमा लिनका लागि मापदण्ड तयार गर्ने र सोही मापदण्डको आधारमा मात्रै नयाँ भर्ना तथा करार नविकरण गर्ने निर्णय गरेको थियो । गत १३ पुसमा भएको सोही निर्णय अनुसार यसपटक सामान्यले करार नविकरण गर्ने स्वास्थ्यको प्रस्ताव फिर्ता गरिदिएको हो ।

स्वास्थ्य मन्त्रालय स्रोत भन्छ, ‘पहिले स्वास्थ्यले बनाएको मापदण्ड पनि मिलेन भनेर फर्काईदियो । नयाँ मापदण्ड बनेको छैन । विना सम्झौँता करारका चिकित्सकले काम गरेको ९ दिन भैसक्यो तर सामान्यले मानेको छैन । यसले स्वास्थ्य संस्थामा थप समस्या देखा पर्न सक्छ ।’

नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले भने सरकारको नीति चिकित्सक टिकाउने भन्दा पनि सेवा गरिरहेकाहरुलाई भड्काउने खालको भएको भन्दै यसले आम सर्वसाधारण मर्कामा पर्ने बताए ।  ‘अहिले चिकित्सक पाउनै गाह्रो छ । काम गरिरहेकाहरुको करार नबिकरण गर्न किन अलमल ? यसले काम गर्ने व्यक्तिको उत्साहमा निरासा थप्छ,’ उनले भने ।

मन्त्रालयका अनुसार अहिले एक सय भन्दा बढी विशेषज्ञ चिकित्सक करारमा सेवारत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *