भूकम्प पछि पुर्ननिर्माण गरिएको प्रसूतिगृह अस्पतालको मुख्य भवनबाट सेवा प्रारम्भ
काठमाडौँ, १४ असार । थापाथलीस्थित परोपकार प्रसूतिगृह अस्पतालले जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा निर्माण सम्पन्न भएको मुख्य भवन सञ्चालनमा ल्याएको छ । निर्माण शुरु गरेको करीब १५ महिनामै सम्पन्न भएको सो भवन आजबाट सञ्चालनमा ल्याएको हो ।
अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले आजबाट इमरजेन्सी, एन्टीनेटल वार्ड र लेवर रुमको सेवा नयाँ भवनबाट दिन थालिएको बताए । उनले दुई चार दिन भित्रै बर्थिङ सेन्टर, पोष्ट अपरेटिभ वार्ड, एनआईसीयू, एमआईसियू,व्लड बैंक, इमरजेन्सी ल्याव, इमरजेन्सी अपरेसन थिएटरको सेवा, ब्लड बैंक लगायतका सेवा पनि नयाँ भवनबाट शुरु हुने बताए ।
कुल १९२ शैय्या क्षमताको सो भवनको सेवा आजबाट शुरु भएपनि औपचारिक उद्घाटन भने आगामी २७ असारमा हुने बताइएको छ ।
विसं २०७२ सालको विनासकारी भूकम्पले मुख्य भवन क्षति पुगेपछि ४१५ शैय्याको सो अस्पताल करीब करीब २५० बेडमा खुम्चिएको थियो । ‘अब हामी ४१५ शेय्या मै पुर्नसञ्चालित हुन सफल भएका छौँ । जापानी डिजाइन र प्रविधिद्धारा निर्माण गरिएकोले पनि हुनसक्छ अहिलेको भवन एकदमै राम्रो छ,’ डा गौतमले भने ।
जाइकाले भूकम्पले क्षति पूगेका वीर अस्पताल नयाँ आइसियू रहेको भवन र प्रसूतिगृह अस्पतालको भवन एउटै प्रोजेक्ट अन्तरगर्त बनाएको हो । यी दुई प्रोजेक्ट शुरु गर्दा जाइकाले २.४ विलियन जापानी येन अर्थात २ अर्व १० करोड रुपैयाँ बजेट विनियोजन भएको बताएको थियो ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com