वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्न ५१ वटा स्वास्थ्य संस्था सूचीकृत

काठमाडौँ, २७ जेठ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ५१ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ ।
सूचीकरणका लागि आवेदन दिएका १२६ स्वास्थ्य संस्थाको अनुमगन गरी मापदण्ड पूरा गरेका ५१ स्वास्थ्य संस्थालाई सूचीकृत गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले गत चैत १३ गते सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने स्वास्थ्य संस्थालाई सूचीकणका लागि आह्वान गरेको थियो ।
कामदारको स्वास्थ्य परीक्षण गर्न राजधानीका नाम चलेको ठूला अस्पतालसमेत सूचीकरणमा परेका छन् । नक्खुस्थित नेपाल मेडिसिटी अस्पताल, त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल, माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल, बानेश्वरस्थित एभरेष्ट अस्पताल, स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, धापासीस्थित ग्रीनसिटी अस्पताल, पोखरास्थित सनसाइन हेल्थ केयर सेन्टर, विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज, टिचिङ हस्पिटल एण्ड रिसर्ज प्रालि, भरतपुरस्थित चितवन मेडिकल कलेज प्रालिलगायत ठूला अस्पताल पनि सूचीकृत भएका छन् ।
स्वास्थ्य परीक्षणका लागि ठूला अस्पताल सूचीकरणमा परेकाले विगतमा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका क्रममा देखिएका बेथिति अन्त्य हुने विश्वास गरिएको छ । यसअघि साना लगानीमा खुलेका स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षणका लागि आवश्यक उपकरण र दक्षजनशक्तिको व्यवस्था नगरी स्वास्थ्य परीक्षणको ‘रिपोर्ट’ दिने गरेको आरोप लाग्ने गरेको थियो ।
पछिल्लो समय नेपालकै ठूला मानिएका अस्पतालले कामदारको स्वास्थ्य परीक्षण गर्न चासो देखाएकाले ‘रिपोर्ट’ वास्तविक आउने र कुनै कामदार विदेश गइसकेपछि स्वास्थ्य समस्याका कारण स्वदेश फर्कन नपर्ने मन्त्रालयको विश्वास छ ।
मन्त्रालयले सूचीकरणमा परेका स्वास्थ्य संस्थालाई सात दिनभित्र धरौटी रकम र सूचीकरण शुल्क बुझाउन आग्रह गरेको छ । सूचीकृत संस्थाले धरौटीवापत रु तीन लाख २५ हजार र सूचीकृत शुल्क रु २५ हजार बुझाउनुपर्ने छ ।
हेर्नुहोस सूचिकृत स्वास्थ्य संस्थाको विवरण

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



