‘नेपालमा १५ प्रतिशत दम्पतीमा नि:सन्तानको समस्या’
काठमाडौँ, २५ जेठ । नेपालमा निःसन्तान दम्पत्तीहरुको संख्या १२ देखि १५ प्रतिशत रहेको अनुमान गरिएको छ । विवाहित दम्पतिहरु मध्ये ठुलो संख्यामा निःसन्तान रहेको विज्ञहरुले बताएका छन् ।
राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा फर्टिलिटी सोसाइटी अफ नेपालका अध्यक्ष डा. भोला रिजालका अनुसार आधा हिस्सा ओगटेका महिलाहरुमा मात्रै यस्तो समस्या नभएर पुरुष र महिलामा बराबर बाँझोपनको समस्या देखिएको छ ।
उनका अनुसार ३३ प्रतिशत महिला, ३३ प्रतिशत पुरुष र ३३ प्रतिशत महिला र पुरुष दुवैमा समस्या देखिएको छ । महिलाहरुमा पाठेघर र नलिमा उच्च समस्या देखा परेको छ । पछिल्लो समय वैदेशिक रोजगारीका क्रममा दोस्रो मुलुक गएका युवाहरुमा बाँझो पनको समस्या बढेको छ ।
महिलामा बढ्दो पाठेघरको समस्या र वैदेशिक रोजगारीमा गएका युवाको शुक्रकिटमा देखिएको कमिले बाँझोपनको समस्या आगामी दिनमा बिकराल भएर जाने अनुमान चिकित्सकहरुले लगाएका छन् । नेपाल सरकारले निःसन्तान रोग हो, भनेर ठान्नु पर्ने डा रिजालले बताए ।
खाडी मुलुकमा रोजगारीमा जानेमा बढी समस्या किन ?
बैदेशिक रोजगारीको शिलशिलामा खाडी मुलुक काम गर्न जाने कामदारमा शुक्रकिट उत्पादनमा ५० प्रतिशतसम्म कमि हुने गरेको चिकित्सकहरुले बताएका छन् । त्यहाँको उच्च तापक्रमले गर्दा शुक्रकिटमा कमि आएको हो ।
विशेषगरी खाडी मुलुकमा काम गर्न जाने कामदारमा यस्तो समस्या देखिने गरेको छ ।शुक्रकिट सामान्य अवस्थामा फर्कन करिब तीन महिना लाग्ने गर्छ । त्यस समयसम्म उनीहरू पुनः रोजगारीका लागि फर्किनुपर्ने हुन्छ । त्यसकारण पनि सन्तान चाहेको समयमा हुन सक्दैन ।
महिलाको उमेर ३५ देखि ४० नाघेपछि उनीहरूमा अण्डाको मात्रा कम हुँदै जान्छ । अझ राम्रो अण्डाको मात्रामा स्वतः कमी आउँछ । जसले गर्दा बाँझोपनको समस्या क्रमिक रुपमा बढ्दै जान्छ ।
तीस वर्षभन्दा कम उमेर र ४५ वर्षभन्दा बढी उमेरका महिलामा तुलना गर्ने हो भने ४५ वर्षभन्दा बढी उमेर भएका महिलामा बाँझोपनको समस्या धेरै बढी हुने डा रिजालले बताए । उनका अनुसार महिलाले ३० वर्ष पुग्दै गर्दा आमा बन्नु सबैभन्दा राम्रो हो । कुनै एक कारणले मात्र बाँझोपन हुँदैन । बाँझोपन हुने कारण धेरै छन् ।
महिला र पुरुष दुवैको समस्याका कारण बाँझोपन हुनसक्छ । पुरुषमा वीर्य उत्पादन कम हुनु वा नहुनु, महिलामा पाठेघरमा समस्या हुनु बाँझोपनको प्रमुख कारण हो भएको बताए ।
सम्पर्क इमेल : [email protected]