स्वास्थ्य जोखिम कर : चुरोटमा प्रति खिल्ली २५ पैसा, खाने सूर्ति खैनीमा प्रतिकिलो २५ रुपैयाँ
काठमाडौँ, १६ जेठ । सरकारले स्वदेशमै उत्पादन हुने र विदेशबाट आयात गरिने सबै सूर्तिजन्य पदार्थमा स्वास्थ्य जोखिम कर लगाउने गतवर्ष देखि शुरु गरेको व्यवस्थालाई निरन्तरता दिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार जारी गरेको अर्थ सम्वन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७६ मा व्यवस्था उल्लेख छ ।
विधेयकमा विदेशबाट आयात हुने र स्वदेशमै उत्पादन हुने चुरोट विँडी सिगारमा प्रति खिल्ली पच्चिस पैसा स्वास्थ्य जोखिम कर उठाइने उल्लेख छ । त्यस्तै खाने सूर्ति, खैनी, गुट्खा, पानमसलामा प्रतिकिलो २५ रुपैयाँका दरले समदरमा स्वास्थ्य जोखिम कर लगाई असुल गरिने भनिएको छ । गत वर्ष ल्याइएको विधेयकमा चुरोट विँडी सिगारमा प्रति खिल्ली पच्चिस पैसा लिने उल्लेख थियो । खाने सूर्ति खैनी र गुट्खाको बारेमा भने केही उल्लेख थिएन ।
नयाँ विधेयकमा उल्लेख भए अनुसार उक्त कर विदेशबाट आयातित सूर्तिजन्य पदार्थको हकमा भन्सार विन्दुबाट र स्वदेशी उत्पादनको हकमा उद्योग प्रतिष्ठानबाट निस्कासन हुने बेलामा असुल गरिने उल्लेख छ ।
उक्त करको नियमन तथा प्रशासन आन्तरिक राजश्व विभागले निर्धारण गरे बमोजिम हुने उल्लेख छ ।
सम्पर्क इमेल : [email protected]