औलो रोगका आधा बिरामी सुदूरपश्चिम प्रदेशमा
काठमाडौँ, १२ बैशाख । देशभर रहेका कुल औलोका बिरामीमध्ये करीब आधा ( ४९.३६ प्रतिशत) सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ । र, ती बिरामीमा रहेका औलोको आधाभन्दा बढी (५३.९४ प्रतिशत) आयातित परजीवी रहेको बताइएको छ ।
विश्व औलो दिवसको अवसरमा स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा निर्देशक डा. विवेककुमार लालले गतवर्षको प्रतिवेदन सार्वजनिक गरेका थिए ।
सो प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४/०७५ मा कुल औलो विरामीको संख्या ११८७ थियो । त्यसमध्ये सुदूरपश्चिम प्रदेशमा मात्रै ५८६ जना छन् । ती ५८६ जनामध्ये ३१६ जना (५३.९२ प्रतिशत)मा आयातित परजीवी भेटिएको छ ।
सुदूरपश्चिम पछि बढी औलो प्रभावित क्षेत्र प्रदेश नं ५ हो । त्यहाँ गतवर्ष २३९ जनामा औलोको संक्रमण भेटिएको थियो । यस्तै बढी औलो प्रभावित प्रदेशमध्ये तेस्रो नम्बरमा कर्णाली प्रदेश परेको छ ।
त्यहाँ गतवर्ष २१० जना औलोको विरामी भेटिएका थिए । प्रदेश नं २ (६६ जना), गण्डकी प्रदेश (३६ जना), प्रदेश नं ३ (२६ जना) र १ (२४ जना) क्रमश चौथो पाँचौँ छैटाँै र सातौँ स्थानमा छन् ।
निर्देशक डा लालले सन् २०२५ सम्ममा औलो निवारण गर्ने नेपालको लक्ष्य रहेको बताए । यद्धपी विश्व स्वास्थ्य संगठनले अघि जोड गरेको खण्डमा २०२० सम्ममा नै निवारण हुनसक्ने बताएको भन्दै आफूहरु त्यस अनुरुप थप कार्य गर्न थालेको समेत जानकारी दिए ।
त्यसो त पश्चिम नेपालका जिल्लाहरु क्रमश कैलाली,मुगु,कन्चनपुर, बाँके, बाजुरा, सुर्खेत कपिलवस्तु, बर्दिया, बैतडी र अछाम औलो संक्रमण हुने प्रमुख दश जिल्लाहरुमा पर्दछन् । अबको लक्ष्य यी जिल्लाहरुमा संक्रमण दर घटाउने भन्ने नै हो ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीले औलोलाई अभियानलाई सबैले सहयोग गरी सफल बनाउनुपर्ने बताए ।
‘यो अभियान हामी सबैको अभियान हो । औलोबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानीमा व्यक्ति आफैले नै बढी ध्यान दिनुपर्छ । राज्यले प्राविधिक सहयोग मात्रै गर्ने हो । त्यसैले यसमा आफैले बढी जोड दिऔँ । लक्षणहरु थाह पाउनासाथ स्वास्थ्य संस्थामा पुगेर चेक जाँच गराऔँ,’ उनले भने ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोशले औलो नियन्त्रणका लागि नेपालले चाल्नुपर्ने कदमको बारेमा जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]