डा. केसीको अनशन कहिले तोडिन्छ ? प्रयास के भएको छ ?

320
Shares

काठमाडौँ, १८ माघ । संघीय संसदको दुबै सदनबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि सरोकारवालाको ध्यान डा गोविन्द केसीको अनशन तिर केन्द्रीत भएको छ । दिनहरु लम्बिदै जाँदा उनले अनशन कसरी तोडलान् भन्ने कौतुहलता बढेको छ ।

डा केसीे भने आफ्ना पूर्ववत अडानमा यथावत रहेको बताएका छन् । उनले आफ्नो अनशन जारी राख्ने जानकारी दिएका छन् ।

राष्टिय सभाबाट विधेयक पास हुनु अघि प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा दिव्यासिंह शाहले डा केसीसंग छलफल गरी अनशन तोडाउने प्रयास थालेकी थिइन । तर विहीबार दिउसो राष्टिय सभाबाट पनि विधेयक पास भएपछि उनको प्रयास समेत अहिले स्थगित भएको बताइएको छ ।

संसदको दुबै सदनबाट विधेयक पास भएपछि डा केसी र तिनका समर्थक थप आक्रोशित बन्न पुगेका छन् । यता नेपाल चिकित्सक संघले डा केसीको जीवन रक्षाका लागि भन्दै आज अस्पताल बन्दको घोषणा गरेको छ । यद्धपी संघको घोषणा उनीहरुकै कतिपय सदस्यहरुले अवज्ञा गरेका छन् ।

बार्ता कहिले हुन्छ ?

नेपाल चिकित्सक संघले डा केसीसंग बार्ताको पहल नगरेको भन्दै दवावका लागि भन्दै आन्दोलनको घोषणा गरेको हो । त्यसअघि नै १५ अनशनका बेलामा समेत मध्यस्थता गरेकी प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा शाहले डा केसीसंग छलफल गरेकी थिइन ।

राष्टिय सभाबाट विधेयक संसोधन सहित पास गराउने र अनशन स्थगित गर्ने विषयमा छलफल भएको थियो । तर राष्टिय सभाले संसोधन नगरीकन विधेयक पास गरिदियो । यसले केसी पक्ष चिडिएको छ ।

‘मैले विधेयक पास हुनु अघि नै डा केसीसंग छलफल त गरेकी हुँ । त्यसपछि गरेकी छैन । पछिल्लो परिवेशमा के गर्ने कसरी गर्ने भन्ने पनि केही तयारी भएको छैन्,’ डा शाहले भनिन् ।

त्यसो त अनशनको समाधान निकाल्ने विषयमा नेकपा निकट चिकित्सक डा. कृष्ण अधिकारीसंग डा केसीका सहयोगीद्धय डा जीवन क्षेत्री र डा सुमन आचार्यले विहीबार विहानै छलफल गरेका थिए । तर सो छलफलबाट पनि निकास भने निस्केन । डा अधिकारीसंग सरकारी पक्षको सन्देश लिएर फर्किएका डाक्टरद्धयको कुरा सुनेपछि डा केसीले अनशन नछाडने बताएका हुन् ।

‘छलफल भएको थियो । सरकारले गर्न सक्ने कुराको सन्देश दुई जना प्रतिनिधिसंग पठाएको पनि हो । तर डा केसीले सो सन्देश इन्कार गर्नु भएछ । त्यसपछि थप कुरा भएको छैन,’ डा अधिकारीले भने ।

प्रधानमन्त्री कार्यालय भन्छ, ‘ बार्ता के का लागि गर्ने ?

विधेयक पास भएपछि डा केसीलाई अनशन तोडि खुशी मनाउन आग्रह गरेको सरकारले बार्ताका लागि अहिलेसम्म कुनै तयारी गरेको छैन । यद्धपी बार्ता कमिटि तत्कालै गठन नहोला भन्न सकिन्न । तर, बार्ताका लागि अहिलेसम्म केही तयारी भएको बुझिएको छैन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले अहिलेसम्म बार्ताका लागि कुनै तयारी नभएको बताए । डा केसीले उठाएका चिकित्सा शिक्षा सम्वन्धी मागमा संसदले पुरा गरिदिएको छ । सत्य निरुपण सम्वन्धी माग २०६२०६३ मै सम्झौँता भएको विषय हो । निर्मला हत्या प्रकरणको विषयमा प्रहरीले गरिरहेको छ । यसका लागि सरकारले कुनै कसर बाँकी राखेको छैन,’ उनले भने, ‘अव डा केसीसंग के सम्झौँता गर्ने ?’

उनले डा केसीको अनशन तोडनका लागि सरकारले अनावश्यक सम्झौँता नगर्ने समेत स्पष्ट पारे ।

शिक्षामन्त्रीले पहल गर्न सक्छन्
डा केसीले उठाएका माग तत्कालै हुवहु पुरा हुने सम्भावना करिव करिव टरेको छ । तर पनि अनशन तोडाउनका लागि बार्ताको पहल भने हुनसक्छ । त्यसका लागि प्रधानमन्त्रीले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई अघि सार्ने सम्भावना बढेको छ । शिक्षामन्त्री पोखरेलले भने डा केसीको माग पुरा हुँदै आएको बताएका छन् ।

दवावका लागि प्रदर्शन
यता अनशन लम्बिदै जाँदा डा केसी पक्षले सरकार विरुद्ध दवाव दिने कार्यक्रम बढाउँदै गएको छ । उसले शनिबार माइतीघरमा बृहत प्रदर्शन गर्ने बताएको छ । डा केसीको अनशनको आज २४ औँ दिन हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *