गोदानले भन्यो, ‘डा. केसीको जीवन रक्षाका लागि पहल कदमी होस्’

176
Shares

 

काठमाडौँ, १० माघ । सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले अनशनरत बसेका डा गोविन्द केसीको जीवन रक्षाको लागि आवश्यक कदम चाल्न सरकारसंग आग्रह गरेको छ । १६ औँ अनशनको १६ औँ दिन आज विज्ञप्ती जारी गर्दै गोदानले यस्तो आग्रह गरेको हो ।

विज्ञप्तीमा उसले गुणस्तरीय चिकित्सा शिक्षाको सर्भसुलभताको लागि डा केसीले १६ औँ पटक अनशन बस्न पर्नु दुर्भाग्यपूर्ण भन्दै स्वास्थ्य अवस्था थप जटिल भइरहेको अवस्थामा ठोस पहल नहुन दुखद रहेको जनाएको छ ।

अध्यक्ष डा दीपेन्द्र पाण्डेद्धारा जारी विज्ञप्तीमा गोदानले डा केसीका विभिन्न चरणका अनशनमा राखिएका कतिपय मागका सम्वन्धमा आफ्ना फरक मतका बाबजुत सहमति र जीवन रक्षाका लागि निरन्तर दवाव दिइरहेको उल्लेख गरेको छ ।

संसदमा पुगेको चिकित्सा शिक्षा विधेयकका सन्दर्भमा विरोध नगरेको गोदानले डा केसीको जीवन रक्षाका लागि विशेष जोड दिएको छ । उसले केही पक्षले डा केसीको अनशनलाई लम्व्याउन चाहेको संकेत गर्दै त्यसतर्फ सजक रहन समेत सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

हेरौँ  विज्ञप्ती

गुणस्तरिय चिकित्सा शिक्षाको सर्वसुलभताको लागि प्राडा गोविन्द केसी ले १६औ पटक सम्म आमरण अनसनमा बस्न पर्नु अत्यन्तै दुर्भाग्यपुर्ण छ। आज अनसनको १६औ दिन भैसक्दा र स्वास्थ्य स्थिती थप जटिल हुँदै गैरहेको अवस्थामा उहाको जीवन रक्षाको सवालमा ठोस पहल कदमी हुन नसक्नुको जति निन्दा गरे पनि कम हुनेछ।

यस संघ ले प्रा डा गोविन्द के।सीका विभिन्न समयका विभिन्न मागहरु मध्ये चिकित्सा शिक्षा ऎन को मागमा फरक मत बावजुद पनि अविछ्छिन्न रुपमा सहमती र थप आवाज दिईरहेको कुरा सबैलाई अवगत नै छ।

चिकित्सा शिक्षा सुधारको लागि लडिएको लडाईमा चिकित्सा विधा बाहेकका अन्य मागहरु बारे यस संघको कुनै आधिकारिक धारणा छैन।

हाल मौजुदा परिस्थितिमा धेरै चरणका छलफल र केही सुधार पछि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ संसदमा पुगेको अवस्था छ। सो विधेयकले उपत्यकामा १० वर्ष सम्म कुनै मेडिकल कलेज नखोलिने , सबै जनतालाई चिकित्सा शिक्षाको समान अवसरको लागि हरेक प्रदेशमा सरकारी मेडिकल कलेज खोलिने, १० वर्षपछि सबै मेडिकल कलेजहरुलाई गैर नाफामुलक बनाईने लगायतका बुदाहरु समेटेको साथै यस संघले पनि उठान गर्दै आएको सबै मेडिकल कलेजलाई एकै ठाउमा समेट्ने चिकित्सा शास्त्र विश्वविद्यालय को परिकल्पना समेत गरेको अवस्था छ।

उक्त ऐनमा सोही चिकित्सा शास्त्र विश्वविद्यालयले स्वास्थ्य मन्त्रालय अन्तर्गतका प्रतिष्ठान र मेडिकल कलेज संचालन र नियमन गर्ने प्रावधान राखे अझ उत्तम हुने यस संघको धारणा छ।

श्रद्देय प्राडा गोविन्द केसीको अनेकौ सत्याग्रहका कारण मात्र चिकित्सा शिक्षाको हकमा यी उपलब्धी हासिल भएको कुरामा दुई मत छैन।

एकातिर चिकित्सा क्षेत्र सुधारको यसरी प्राप्त उपलब्धीहरुको रक्षा गर्नु आजको आवस्यकता हो भने अर्कोतिर डा केसीको जिवन रक्षा गर्नु अर्को अहम आवस्यकता पनि हो। राज्य आफैले एक कदम अघि बढेर चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरिय सर्बसुलभताको लागि लागिपर्नु पर्नेमा एक जना व्यक्तिले आफ्नो ज्यान नै जोखिममा पारेर सारा जनताको भलाई को निमित्त चिकित्सा शिक्षा एनको लागि लड्नु चानचुने विषय होईन।

आज १६औ दिन भैसक्दा पनि सम्वन्धित सरोकारवालाहरुले डा के।सी। को जीवन रक्षाको लागि ठोस पहल कदमी नगरेको सारै बिडम्बनापुर्ण अवस्थाको बिच नेपाल सरकार र प्रतिपक्ष अनि डा के।सी सङ्ग प्रत्यक्ष सम्पर्कमा रहनुहुने सवैले एक युगमा एक चोटि जन्मने यस्ता महामानवको जीवन रक्षा हेतु आफ्ना निजि स्वार्थ यदि छन भने सबै त्यागेर ईमान्दारीका साथ पहल गरिदिनु हुन यस संघ विनम्र आग्रह गर्दछ।

निस्कलन्क र निष्ठावान व्यक्तिको खडेरी परेको अहिलेको समयमा डा केसी बाच्नै पर्ने विषयले प्राथमिकता पाउनैपर्छ। तत्कालै अनसन अन्त्यको लागि राज्यपक्षको बढी भुमिका देखिन्छ। यसमा कुनै विशेष स्वार्थ समुहले अनसन लम्ब्याउन भुमिका खेलेको भएमा त्यस्तो समूह ठूलो दोषी हुने यस संघको ठहर छ।

 

डा. दीपेन्द्र पाण्डे
अध्यक्ष

सरकारी चिकित्सक संघ नेपाल (गोदान)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *