राज्यमन्त्री डा. यादव र महानिर्देशक डा. लोहनीबीच दुरी बढ्यो

8.2k
Shares

काठमाडौँ, १७ मंसिर । कर्मचारी सरुवाको विषय लिएर स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीबीच दुरी बढेको छ ।

विभागले गर्नुपर्ने ‘सबै सरुवा एकमुष्ट रुपमा गर्नुहोस’ भन्ने राज्यमन्त्री डा. यादवको दवावलाई महानिर्देशक डा. लोहनीले वेवास्ता गरेपछि दुरी बढेको हो ।यही विषयमा केही दिन अघि राज्यमन्त्री यादव र डा. लोहनीबीच चर्काचर्की समेत परेको थियो ।

‘खासमा कर्मचारी समायोजन ऐन अध्यादेशको रुपमा ल्याउन लागिएको कुरा छ । त्यसैले अहिले सरुवाका लागि हतार नगरौँ भन्नेमा महानिर्देशक हुनुहुन्थ्यो । तर राज्यमन्त्री ज्यूले पछिको कुरा हुँदै गर्छ अहिले सबै सरुवा गर्नुहोस् भन्दै चर्को दवाव दिनुभयो, यसैमा कुरा नमिलेको हुनसक्छ,’ विभाग स्रोतले भन्यो ।

त्यसो त यतिवेला महानिर्देशक लोहनी साताव्यापी भ्रमणका लागि सिंगापुर पुगेका छन् । कतिपयले राज्यमन्त्री दवाव छल्न भ्रमणमा निस्किएको समेत टिप्पणी गरेका छन् ।

‘केही साता भित्रै समायोजन ऐन आउने कुरा छ । अहिले सरुवा गरिएपनि केही साता भित्रै फेरी नयाँ व्यवस्था हुँदैछ । त्यसैले किन हतार गर्ने भन्नेमा महानिर्देशक हुनुहुन्थ्यो । तर राज्यमन्त्री ज्यूले लगातार दवाव दिइराख्नु भएको छ । त्यहि दवाव छल्नका लागि पनि भ्रमणमा निस्किएको हुनसक्छ,’ स्रोतले भन्यो ।

उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले १० औँ तहसम्मको कर्मचारी सरुवा तथा पदस्थापन हेर्ने जिम्मा राज्यमन्त्री डा यादवलाई सुम्पिएका छन् । सो अधिकारको अधिकतम प्रयोग गर्न भन्दै यादवले सरुवाको लागि दवाव दिएका हुन् ।

यसअघि साउनमा गरिएको १ हजार ६२० जनाको सरुवामा त्रुटि देखिएपछि स्वच्छ छविका मानिने डा. लोहनीको समेत आलोचना भएको थियो । सोही कारण पनि महानिर्देशक लोहनीले यसपटक विशेष सतर्कता अपनाएको बुझिएको छ ।

त्यसो त विभागले मंसिरको पहिलो साता १७० जना नर्स र दोस्रो साता ल्याव, मेडिकल रेकर्डस, फार्मेसी लगायतका समूहका १०९ जना गरी कुल २७९ जनाको काज सरुवा गरिसकेको छ । तयारी अनुसार गर्ने हो भने ३ हजार ५ सय बढीको सरुवा गर्नुपर्ने हुन्छ । एकैपटक यसरी सरुवा गर्दा लफडा ल्याउने निश्चित छ । फेरी सरकारले समायोजन ऐन अध्यादेशको रुपमा अघि बढाउने तयारी गरेको समेत भनिएको छ ।

महानिर्देशक फेर्ने चर्चा
हुन त स्वास्थ्य सेवा विभागको महानिर्देशक फेर्ने चर्चा यसअघि पनि भएको थियो । दुई महिना अघि पनि उपप्रधान एवं स्वास्थ्य मन्त्री यादवले डा लोहनीलाई हटाउन प्रस्ताव नै उठाउन लगाएको चर्चा मन्त्रालयमा चलेको थियो । तर त्यो सफल हुन सकेन ।

अहिले फेरी राज्यमन्त्री यादव यो विषय व्यूताउने खेलमा लागेको बुझिएको छ । यो या त्यो नाममा दोष देखाएर महानिर्देशक पदबाट हटाउने खेलमा लागेका छन् । ‘त्यसैले समिक्षा गोष्ठीमा गएको छ भन्ने जान्दा जान्दै महानिर्देशकको छड्केमा जाने, एकै पटक ठूलो संख्यामा सरुवा गर भनेर दवाव दिने गरेका छन्,’  मन्त्रालयका एक अधिकारीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *