गरीव तथा असाहयका लागि धनकुटामा शुरु भयो १० दिने निःशुल्क स्वास्थ्य शिविर
धनकुटा, ८ कात्तिक । गरीब, असाहय तथा पहुँचबिहीनहरुका लागि धनकुटा अस्पतालमा हिजोदेखि वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर शुरु भएको छ ।
अलोहा मेडिकल मिसन अमेरिकाको आयोजनामा धनकुटा र आसपासका बिरामीलाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । शिविरका लागि अलोहामिसन अन्तरगत अमेरिकन ४० जना विशेषज्ञ डाक्टरहरुको टोलीले खटिएका छन् ।
बृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले गरीब र असहायका लागि शिविर निकै फलदायी हुने बताए ।
कात्तिक १७ गतेसम्म धनकुटा अस्पतालमा सञ्चालन हुने स्वास्थ्य शिविरमा विशेषज्ञ अमेरिकी चिकित्सकद्वारा पित्तको पत्थरी, पाठेघर, हर्निया, हाइड्रोसिल, पायल्स, गाठागुठीको शल्यक्रिया, दातको उपचार, कृत्रिम हात वितरण गरिने शिविर आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले बताए ।
उनले दश दिने शिविरमा एक सय ५० जनाभन्दा बढीको मेजर अप्रेशन र ६ सयजना भन्दा बढीको सामान्य अप्रेसन सहितको सेवा दिने लक्ष्य राखिएको जानकारी दिए ।

अमेरिकी विशेषज्ञ डाक्टरहरुको सहभागितामा बुधबारदेखि शुरु गरिएको शल्यक्रिया शिविरमा एक पटकमा चार जनाको मेजर अप्रेशन गर्ने व्यवस्था गरिएको छ । शिविरबाट धनकुटा र आसपासका सयौँ बिरामी लाभान्वित हुने आयोजकले बताएका छन् ।
सम्पर्क इमेल : [email protected]


नेपाली हेल्थ 