बुटवलमा आठ सय जेष्ठ नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण
बुटवल, २० माघ । बुटवलमा ६० बर्ष माथिका ८ सय जना बृद्धबृद्धाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । बुटवल उपमहानगर पालिकाको आयोजना तथा राष्ट्रिय चिकित्सक संघ, बुटवल शाखाको व्यवस्थापनमा उनीहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।
स्थानीय कान्ति माध्यमिक विद्यालयमा राखिएको निशुल्क स्वास्थ्य शिविरमा परीक्षण गराउन वडा नं १ देखि ६ सम्मका बृद्धबृद्धाहरु आएका थिए ।
राष्ट्रिय चिकित्सक संघ बुटवल शाखाका अध्यक्ष डा सन्तोष पोखरेलले शिविरमा आएका बृद्धबृद्धाको रगतमा चिनीको मात्राको जाँच, रगतमा त्रियाटिनिनको मात्राको जाँच (मृगौला रोग पहिचानका लागि), इसिजि (मुटु रोगका लागि), अल्ट्रासाउण्ड तथा फिजियोथेरापी सेवा उपलव्ध गराएको बताए । यस्तै जनरल मेडिसिन, जनरल सर्जरी, स्त्रीरोग, हाडजोर्नी, नाक कान घाँटी, चर्मरोग,आँखा, मानसिक रोग जस्ता विभागीय सेवा समेत उपलव्ध गराएको बताए ।
संघले उक्त शिविरका लागि ४६ जना चिकित्सक, २० जना नर्स, १८ जना स्वास्थ्य कार्यकर्ता तथा २५ जना स्वयंसेवी खटाएको जनाएको छ ।
अध्यक्ष डा पोखरेलले चिकित्सकहरुको सामाजिक उत्तरदायित्व पूरा गर्नका लागि उप महानगर पालिकसंग मिलेर स्वास्थ्य शिविर राखिएको बताए ।
स्वास्थ्य परीक्षणका लागि एकहप्ता अगाडी नै बडा कार्यालयको सहयोगमा बृद्धबृद्धाको नाम संकलन गरि टिकट वितरण गरिएको हुनाले कार्यक्रम एकदमै व्यवस्थित भएको बताइएको छ ।
प्रदेशप्रमुखको रक्तचाप परीक्षण गरी कार्यक्रमको उद्घाटन

बृहत निशुल्क स्वास्थ्य शिविरमा आतिथ्यता गर्न पुगेका ५ नम्बर प्रदेशका प्रमुख उमाकान्त झाको लुम्बिनी अन्चल अस्पतालका मेसु डा कृष्णप्रसाद खनालले उच्चरक्त चाप जाँच गरेपछि शिविर शुभारम्भ भएको थियो ।
कार्यक्रममा ५ नम्बर प्रदेश उच्च अदालतका न्यायधीश शान्ता सेढाईँ, प्रदेश नं ५ का सचिव सनथ दवाडी, नेपाल मेडिकल काउन्सिलका सदस्य डा कृष्ण अधिकारी, नेपाल चिकित्सक संघका कोषाध्यक्ष डा रक्षा श्रेष्ठको सहभागिता थियो ।
उपमहारनगरका निमित्त प्रमुख रामप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा राट्रिय चिकित्सक संघका सल्लाहकार डा. प्रेनित पोखरेल, डा. प्रयश्चित श्रेष्ठ, डा. राजेन्द्र खनाल, डा. सुमन काफ्ले, डा. नेत्र राना, डा. प्रशान्त आचार्य, डा. सम्राट पराजुली समेत सहभागी थिए । कार्यक्रमको सञ्चालन समिर आचार्यले गरेका थिए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



