स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारले अब के गर्ने ? नागरिकले दिए यस्तो सुझाव

0
Shares

काठमाडौँ, १३ मंसिर । सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको दाबी गर्दै आएको छ । यद्यपि नागरिक भने सरकारको यो दाबीसँग पूर्ण रूपमा सहमत देखिँदैनन् ।

बरु उनीहरूले स्वास्थ्य क्षेत्रमा अझै धेरै सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँदै वर्तमान सरकारले तत्काल ध्यान दिनुपर्ने विषयहरूबारे सुझाव दिएका छन् ।

नेपाली हेल्थ डटकमले आफ्नो फेसबुक पेजमार्फत सरकारले स्वास्थ्य क्षेत्रमा अब के गर्नुपर्छ भन्ने विषयमा नागरिकसँग सुझाव माग गरेको थियो । त्यस क्रममा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न पेशा तथा क्षेत्रमा क्रियाशील छ जना नागरिकले आ–आफ्ना धारणा र सुझाव दिएका छन् ।

उनीहरूले स्वास्थ्य संस्थाको व्यवस्थापन, स्वास्थ्य बीमाको प्रभावकारिता, औषधिको गुणस्तर, जनशक्ति व्यवस्थापनदेखि आधारभूत स्वास्थ्य सेवाको विस्तारसम्मका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

स्वास्थ्य संस्थाको जिम्मेवारी स्पष्ट पार्नुपर्छ : अमरेन्द्र यादव
अमरेन्द्र यादवले स्वास्थ्य क्षेत्र सुधारका लागि सबैभन्दा पहिले स्वास्थ्य संस्थाहरूको काम, कर्तव्य र जिम्मेवारी स्पष्ट रूपमा वर्गीकरण गर्नुपर्ने सुझाव दिएका छन् ।

उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र (पीएचसी), नगर अस्पताल, प्रादेशिक अस्पताल, संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको कार्यक्षेत्र स्पष्ट हुनुपर्छ । यसो गर्दा स्वास्थ्य संस्थाबीच हुने दोहोरोपना र जिम्मेवारीबाट पन्छिने प्रवृत्ति अन्त्य गर्न सहयोग पुग्नेछ ।

त्यस्तै, कुन तहको अस्पतालले कस्तो सेवा दिने र कुन स्तरको जटिल उपचार कहाँ हुने भन्ने स्पष्ट व्यवस्था गरी रेफरल प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने उनको सुझाव छ ।

यादवले औषधिको गुणस्तरमा पनि विशेष ध्यान दिनुपर्ने बताएका छन् । औषधि व्यवस्था विभाग (डीडीए) लाई सक्रिय, स्वतन्त्र र शक्तिशाली बनाउँदै बजारमा उपलब्ध कम गुणस्तरका तथा प्रभावहीन औषधिको नियमित परीक्षण र अनुगमन गर्नुपर्ने उनको भनाइ छ ।

विशेषगरी स्वास्थ्य बीमामा सूचीकृत भएका तर प्रभावहीन वा गुणस्तरहीन औषधिको गुणस्तर परीक्षण गरी आवश्यकताअनुसार कालोसूचीमा राख्ने व्यवस्था गर्नुपर्ने उनले सुझाव दिएका छन् । साथै स्वास्थ्य संस्थाबीचको समन्वय, जनशक्ति व्यवस्थापन र औषधि आपूर्ति प्रणालीलाई एकीकृत तथा पारदर्शी बनाउनुपर्ने उनको धारणा छ ।

निजी र सरकारी अस्पतालमा स्वास्थ्य बीमा समान रूपमा लागू हुनुपर्छ : मित्रमणि पोखरेल
मित्रमणि पोखरेलले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउनुपर्ने बताएका छन् ।

उनका अनुसार निजी तथा सरकारी दुवै अस्पतालमा स्वास्थ्य बीमा सेवा सहज रूपमा उपलब्ध हुनुपर्छ । निजी अस्पताललाई पनि स्वास्थ्य बीमाको प्रथम सेवा केन्द्रका रूपमा समेट्ने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।

त्यस्तै, बीमामार्फत उपलब्ध हुने औषधिको गुणस्तर सुनिश्चित गर्नुपर्ने र सेवाग्राहीले अनावश्यक झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताएका छन् ।

बीमितले तोकिएको एक लाख रुपैयाँसम्मको सुविधाको पूर्ण उपयोग गर्न पाउनुपर्नेमा जोड दिँदै पोखरेलले निजी र सरकारी अस्पतालमा बीमा सेवा प्रवाहको प्रक्रिया समान र सहज बनाउनुपर्ने धारणा राखेका छन् । बिरामीले बीमामार्फत गुणस्तरीय र प्रभावकारी सेवा पाउनुपर्ने उनको भनाइ छ ।

मापदण्ड पूरा गर्ने निजी अस्पताललाई पनि बीमामा समेट्नुपर्छ : मनिश तिमल्सिना
मनिश तिमल्सिनाले स्वास्थ्य बीमाको दायरा विस्तार गर्नुपर्ने सुझाव दिएका छन् । उनका अनुसार निश्चित मापदण्ड तयार गरी ती मापदण्ड पूरा गर्ने निजी अस्पताललाई पनि स्वास्थ्य बीमा कार्यक्रममा समेट्नुपर्छ ।

स्वास्थ्य बीमालाई आर्थिक अवस्थाका आधारमा सबै नागरिकको पहुँचमा पुर्‍याउनुपर्ने उनको धारणा छ । यसका लागि आर्थिक रूपमा सक्षम नागरिकले बीमाको प्रिमियम तिर्ने र तिर्न नसक्ने नागरिकको प्रिमियम सरकारले व्यहोर्ने व्यवस्था गर्नुपर्ने उनले बताएका छन् ।

आवश्यक परे प्रिमियम शुल्क बढाएर भए पनि स्वास्थ्य बीमाको दायरा फराकिलो बनाउनुपर्ने तिमल्सिनाको सुझाव छ ।

एक स्वास्थ्य संस्था, एक चिकित्सकको नीति लागू गर्नुपर्छ : डा. विजय थापा
डा. विजय थापाले स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि ‘एक स्वास्थ्य संस्था, एक चिकित्सक’ को नीति लागू गर्नुपर्ने सुझाव दिएका छन् ।

उनका अनुसार चिकित्सकको सेवा र जिम्मेवारीलाई व्यवस्थित बनाउन यस्तो नीति आवश्यक छ । स्वास्थ्य संस्थामा चिकित्सकको नियमित उपलब्धता र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न सरकारले यस विषयमा ध्यान दिनुपर्ने उनको धारणा छ ।

स्वास्थ्य सेवामा दरबन्दी थप्नुपर्छ, नयाँ ऐन आवश्यक : ओमप्रसाद उपाध्याय
ओमप्रसाद उपाध्यायले स्वास्थ्य क्षेत्रमा देखिएका जनशक्ति अभावलगायतका समस्या समाधान गर्न आवश्यक दरबन्दी थप्नुपर्ने बताएका छन् ।

स्वास्थ्य संस्थाहरूमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन पर्याप्त जनशक्तिको व्यवस्था हुनुपर्ने उनको सुझाव छ । साथै स्वास्थ्य क्षेत्रका विद्यमान समस्या सम्बोधन गर्न आवश्यक कानुनी व्यवस्था गर्दै नयाँ ऐन निर्माण गर्नुपर्ने उनले बताएका छन् ।

स्वास्थ्य उपचौकीबाटै आधारभूत परीक्षण र आकस्मिक सेवा उपलब्ध गराउनुपर्छ : डा. गोपी न्यौपाने
डा. गोपी न्यौपानेले स्वास्थ्य सेवाको पहुँच गाउँगाउँसम्म विस्तार गर्न स्वास्थ्य उपचौकीहरूको सेवा र पूर्वाधार स्तरोन्नति गर्नुपर्ने सुझाव दिएका छन् ।

उनका अनुसार प्रत्येक स्वास्थ्य उपचौकीमा नियमित प्रयोगशाला परीक्षण (रुटिन टेस्ट ल्याब), अल्ट्रासाउन्डसम्मको रेडियोलोजी सेवा, सामान्य प्रसूति सेवा उपलब्ध गराउन सकिने लेबर रुम तथा सामान्य शल्यक्रियाका लागि आवश्यक औजार र उपकरणको व्यवस्था हुनुपर्छ ।

त्यस्तै, सुविधासम्पन्न दुईवटा एम्बुलेन्स, २४ सै घण्टा आकस्मिक सेवा, आवश्यक इमर्जेन्सी औषधि तथा सरकारले निःशुल्क उपलब्ध गराउने घोषणा गरेका औषधिको पर्याप्त व्यवस्था हुनुपर्ने उनको सुझाव छ । अशक्त र ज्येष्ठ नागरिकका लागि विशेष सुविधा तथा सेवाग्राहीको भीड व्यवस्थापन गर्न टोकन प्रणाली ९क्यू सिस्टम० लागू गर्नुपर्ने पनि उनले बताएका छन् ।

यी सबै सेवा सञ्चालन गर्न आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन पनि उत्तिकै महत्त्वपूर्ण रहेको न्यौपानेको भनाइ छ ।

जनशक्ति अभाव सम्बोधन गर्न एमबीबीएस उत्तीर्ण चिकित्सकलाई आलोपालो पारिश्रमिकसहितको इन्टर्नसिपमा परिचालन गर्ने, अन्तिम वर्षका विद्यार्थीका लागि छ महिनाको इन्टर्नसिपको व्यवस्था गर्ने तथा नर्सिङ र हेल्थ असिस्टेन्ट अध्ययन गर्ने विद्यार्थीलाई दुई वर्ष सैद्धान्तिक अध्ययनपछि एक वर्ष अनिवार्य इन्टर्नसिप गराउने व्यवस्था गर्नुपर्ने उनले सुझाव दिएका छन् ।

स्वास्थ्य सुधारका लागि नागरिकका साझा चासो
छ जना नागरिकले दिएका सुझावलाई हेर्दा स्वास्थ्य सेवाको गुणस्तर, स्वास्थ्य बीमाको प्रभावकारिता, औषधिको उपलब्धता र गुणस्तर, स्वास्थ्य संस्थाको जिम्मेवारी तथा जनशक्ति व्यवस्थापन मुख्य चासोका विषयका रूपमा देखिएका छन् ।

नागरिकका यी सुझावले स्वास्थ्य क्षेत्रमा सुधारको बहस केवल अस्पतालको संख्या थप्ने वा पूर्वाधार निर्माण गर्ने विषयमा मात्र सीमित नभई सेवाको गुणस्तर, पहुँच, जवाफदेहिता र प्रभावकारी व्यवस्थापनसँग पनि जोडिनुपर्ने देखाउँछन् । अब सरकारले यस्ता सुझावलाई नीतिगत तहमा कसरी सम्बोधन गर्छ भन्ने चासोको विषय बनेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *