क्यान्सर र मिर्गौलाका बिरामी तथा तिनका आफन्तलाई बिभागले भन्यो, ‘औषधि अभाव भए यी कम्पनीमा सम्पर्क गर्नु’

0
Shares

काठमाडौं, १२ मंसिर । क्यान्सर तथा मिर्गौला रोगका बिरामीले प्रयोग गर्ने अत्यावश्यक औषधिको बजारमा अभाव भएको गुनासो बढेपछि औषधि व्यवस्था विभागले ती औषधि आयात गर्ने कम्पनी र सम्पर्क व्यक्तिको नाम तथा फोन नम्बर सार्वजनिक गरेको छ।

विभागले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिन समूहका औषधि (सिस्प्लाटिन र कार्बोप्लाटिन) तथा पेरिटोनियल डायलाइसिसमा प्रयोग हुने औषधि र डायलाइसिस सोलुसनको उपलब्धतामा समस्या देखिएको भन्दै बिरामी तथा सरोकारवालालाई आवश्यक परेमा तोकिएका औषधि आयातकर्तासँग सम्पर्क गर्न सकिने जनाएको छ ।

पछिल्लो केही समयदेखि यी औषधि बजारमा उपलब्ध नभएको वा न्यून मात्रामा रहेको जानकारी विभिन्न स्रोतबाट प्राप्त भएको विभागको भनाई छ। उसले जीवनरक्षक औषधिको निरन्तर बजार उपलब्धता सुनिश्चित गर्ने र बिरामीलाई सहज रूपमा औषधि उपलब्ध गराउने उद्देश्यले आयातकर्ता तथा सम्पर्क व्यक्तिको विवरण सार्वजनिक गरिएको समेत स्पष्ट पारेको छ ।

विभागले क्यान्सर उपचारमा प्रयोग हुने सिस्प्लाटिन र कार्बोप्लाटिनका लागि पाँचवटा आयातकर्ता कम्पनी तथा डायलाइसिसमा प्रयोग हुने औषधिका लागि दुईवटा कम्पनीको सम्पर्क विवरण सार्वजनिक गरेको छ। सम्वन्धित बिरामी वा तिनका आफन्तले चिकित्सकको प्रेस्क्रिप्सनसहित सार्वजनिक गरिएका सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गर्न सक्नेछन्।

त्यसैगरी, सम्बन्धित आयातकर्तालाई औषधिको मौज्दात, प्राप्ति तथा वितरणको अद्यावधिक अभिलेख व्यवस्थित राख्दै नियमित रूपमा बजारमा औषधिको उपलब्धता सुनिश्चित गर्न विभागले आग्रह गरेको छ।

सिस्प्लाटिन र कार्बोप्लाटिनका आयातकर्ता तथा सम्पर्क विवरण

१. ताज नेपाल प्रालि, काठमाडौं — ख्वाजा तारिक राना, ९८५१००३४९६

२. डीकेएम फर्मास्युटिकल्स प्रालि, काठमाडौं — शरद मानन्धर, ९८५११०७७६४

३. यति फार्माकेम डिस्ट्रिब्युटर्स प्रालि यति केम डिस्ट्रिब्युटर्स प्रालि, काठमाडौं — प्रदीप लामिछाने, ९८०१२१६५५४

४. सिजल फार्मा प्रालि, काठमाडौं — अञ्जन पुडासैनी, ९८०२०१७८५८

५.  डोमोटेक्स फार्मा, काठमाडौं — योगेश कर्माचार्य, ९८२४८९७१२८

डायलाइसिसमा प्रयोग हुने औषधिका आयातकर्ता तथा सम्पर्क विवरण

१. पेरिटोनियल डायलाइसिस फ्लुइड — केयर मेड इन्टरनेसनल, काठमाडौं। सम्पर्क व्यक्ति : मधु चित्रकार, ९८५१०९५१८३

२. कन्टिन्युअस रिनल रिप्लेसमेन्ट थेरापी  — पिकोन पीटीई लिमिटेड, ललितपुर। सम्पर्क व्यक्ति : निरज जोशी, ९८५१०३२७७८

विभागले औषधि उपलब्धतासम्बन्धी कुनै समस्या वा थप जानकारी आवश्यक परेमा विभागमा समेत सम्पर्क गर्न सकिने जनाएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *