नेपाल चिकित्सक संघद्वारा नवनिर्वाचित परिषद् सदस्यलाई प्रमाणपत्र वितरण

फुटसल प्रतियोगिताका विजेता खेलाडी पुरस्कृत
0
Shares

काठमाडौं, ११ मंसिर । नेपाल चिकित्सक संघ (एनएमए) को परिषद् सदस्यमा निर्वाचित भएका चिकित्सकहरुलाई प्रमाणपत्र वितरण गरिएको छ। गत २३ साउनमा निर्वाचित ६० जना परिषद् सदस्यहरुलाई आज संघको केन्द्रीय कार्यालयमा एक कार्यक्रम गरी प्रमाणपत्र वितरण गरिएको हो ।

संघका अध्यक्ष डा. बद्री रिजालको सभापतित्वमा भएको सो समारोहमा संघका पूर्वअध्यक्ष डा. मणिन्द्र रन्जन बराल प्रमुख अतिथि र प्रमुख निर्वाचन अधिकृत बनेका डा. प्रणयरत्न शाक्यले प्रमाणपत्र वितरण गरेका थिए ।

सोही अवसरमा गत १४ कात्तिकमा आयोजना गरिएको ‘एनएमए इन्टर हस्पिटल फुटसल टुर्नामेन्ट’ का विजेता खेलाडीहरूलाई समेत पुरस्कार वितरण गरी सम्मान गरिएको थियो।

कार्यक्रम बोल्ने क्रममा डा. बरालले नेपालको सबैभन्दा पुरानो संगठन नेपाल चिकित्सक संघ पुराना गतिविधिको स्मरण गर्दै वर्तमान सन्दर्भमा चिकित्सा शिक्षा र सेवालाई सुदृढ ढंगले अघि बढाउनका लागि मार्ग निर्देश गर्नु पर्ने बताए । उनले पेशागत दक्षता, हक अधिकारका कुरासंगै आम नागरिकको स्वास्थ्यलाई समेत दृष्टिगत गरी कदम चाल्नु पर्ने बताए ।

यसैगरी संघका अध्यक्ष डा. रिजालले निर्वाचित सदस्यहरुले संस्थाको गरिमालाई उचो पारेर काम गर्ने विश्वास व्यक्त गरे । उनले चिकित्सकहरुको शारीरिक मानसिक स्वास्थ्यलाई ख्याल गर्दै टुर्नामेन्ट आयोजना गरिएको भन्दै यसले खेलकुदमार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीबीच आपसी सद्भाव, सहकार्य र एकताको भावना अभिवृद्धि गर्न योगदान पुर्‍याउने बताए ।

सो प्रतियोगितामा काठमाडौँ मोडल हस्पिटलको टोलीले प्रथम स्थान हासिल गर्दै ट्रफी मेडल, प्रमाणपत्रसहित ३० हजार नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै एपीएफ अस्पतालको टोलीले दोस्रो हुँदै २० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

कार्यक्रममा पूर्व अध्यक्षहरु डा रमेशकान्त अधिकारी, डा चोपलाल भुसाल, डा अञ्जनीकुमार झा, डा अनिलविक्रम कार्की लगायतका पदाधिकारीहरुको समेत उपस्थिति थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *