राष्ट्रिय ट्रमा सेन्टरको १३ वर्ष : स्थापनादेखि विशिष्टीकृत स्वास्थ्य सेवाको केन्द्रसम्म

0
Shares

नेपालको एकमात्र केन्द्रीय स्तरको राष्ट्रिय ट्रमा सेन्टरले स्थापना र सञ्चालनका विभिन्न चुनौती पार गर्दै विशिष्टीकृत स्वास्थ्य सेवा प्रवाहमा आफ्नो भूमिका विस्तार गर्दै गएको छ।

दुर्घटना, चोटपटक तथा आकस्मिक स्वास्थ्य समस्याका बिरामीलाई उपचार सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको यस सेन्टरले पछिल्लो समय सेवा विस्तार, आधुनिक उपकरणको व्यवस्थापन, शल्यक्रिया, सघन उपचार तथा अस्पतालको डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेको छ।

भारत सरकारको सहयोगमा स्थापना, सञ्चालनमा आउन लामो समय
राष्ट्रिय ट्रमा सेन्टर नेपाल–भारत मैत्रीपूर्ण सम्बन्धको महत्वपूर्ण परियोजनाका रूपमा अघि बढेको हो।

तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र भारतका तत्कालीन प्रधानमन्त्री इन्द्रकुमार गुजरालको संयुक्त भ्रमणका क्रममा सन् २००४ मा यसको अवधारणा अघि बढेको थियो। त्यसपछि भारत सरकारको पूर्ण लगानीमा सेन्टरको भवन निर्माण गरिएको थियो।

भवन निर्माण सम्पन्न भए पनि सञ्चालनको मोडालिटी स्पष्ट नहुँदा लामो समयसम्म सेन्टर सञ्चालनमा आउन सकेन। नेपाल सरकारबाट सञ्चालन गर्ने कि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सञ्चालन गर्ने भन्ने विषयमा स्पष्ट निर्णय हुन नसक्नु तथा आवश्यक जनशक्ति व्यवस्थापन नहुनु यसको प्रमुख कारण थियो।

निर्माण सम्पन्न भएको करिब १५–१६ वर्षपछि २०७१ साल मंसिर ९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सेन्टरको उद्घाटन भयो। उद्घाटनपछि सेवा सुरु भए पनि प्रारम्भिक चरणमा सञ्चालनसम्बन्धी केही अन्योल कायम नै रह्यो।

२०७२ सालको विनाशकारी भूकम्पपछि भने विशिष्टीकृत ट्रमा उपचार केन्द्रको आवश्यकता अझ स्पष्ट भयो। त्यसपछि सेन्टरले क्रमशः पूर्ण क्षमतामा सेवा सञ्चालन गर्न थालेको हो।

हाल राष्ट्रिय ट्रमा सेन्टर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको प्रत्यक्ष निर्देशनमा र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाको आन्तरिक व्यवस्थापनसम्बन्धी महत्वपूर्ण निर्णय न्याम्सको कार्यकारी परिषद् तथा सिनेटबाट हुने गरेका छन्।

वार्षिक एक लाख २४ हजारभन्दा बढी बिरामीलाई सेवा
२०० शय्याको राष्ट्रिय ट्रमा सेन्टरले पछिल्लो आर्थिक वर्षको तथ्यांकअनुसार एक लाख २४ हजारभन्दा बढी बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ। तीमध्ये करिब १९ हजार बिरामीले आकस्मिक सेवा लिएका छन् भने ६ हजार ७०० जना भर्ना भएर उपचार गराएका छन्।

अस्पतालमा बिरामीको औसत बसाइ नौ दिन रहेको छ। शय्या उपयोग दर ९०.७३ प्रतिशत पुगेको छ, जुन अस्पतालमा बिरामीको चाप उच्च रहेको संकेत हो।

अस्पतालको मृत्युदर १.४४ प्रतिशत रहेको छ। अस्पताल प्रशासनका अनुसार पछिल्ला वर्षहरूमा बिरामीको संख्या र भर्ना दर बढ्दै गए पनि मृत्युदर घट्दो क्रममा छ। संक्रमण रोकथामका अभ्यास, स्वास्थ्यकर्मीको तालिम तथा आधुनिक मोडुलर अपरेसन थिएटरको व्यवस्थापनले उपचार सेवाको गुणस्तर सुधारमा सहयोग पुगेको छ।

अस्पतालमा एक वर्षमा ८ हजार १४२ वटा ठूला शल्यक्रिया गरिएको छ। तीमध्ये करिब दुई हजार शल्यक्रिया सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत निःशुल्क गरिएको  छ। आकस्मिक विभागका साना शल्यक्रिया भने उक्त तथ्यांकमा समावेश छैनन्।

सामाजिक सेवा स्रोत निकायमार्फत करिब तीन हजार बिरामीले निःशुल्क उपचार सेवा पाएका छन् भने १८ हजारभन्दा बढीले आंशिक सहुलियतमा सेवा प्राप्त गरेका छन्।

अर्थोपेडिक्स विभागमा सबैभन्दा बढी बिरामी
विभागगत तथ्यांकअनुसार सबैभन्दा बढी बिरामी अर्थोपेडिक्स विभागमा उपचारका लागि पुग्ने गरेका छन्। कुल एक लाख २४ हजार बिरामीमध्ये करिब ८६ हजार बिरामीले यस विभागबाट सेवा लिएका छन्।

अर्थोपेडिक्स विभागमा करिब ४० जना विशेषज्ञ शल्यचिकित्सक कार्यरत छन्। विभागमा रेजिडेन्सी कार्यक्रमअन्तर्गत ३० देखि ३५ जना आवासीय चिकित्सकसमेत अध्ययन तथा अभ्यासमा संलग्न छन्। फेलोसिप कार्यक्रमसमेत सञ्चालन भइरहेकाले विभागले ठूलो संख्यामा बिरामीलाई सेवा दिँदै आएको छ।

अर्थोपेडिक्सपछि मेडिसिन, न्युरोसर्जरीलगायतका विभागमा बिरामीको चाप रहने गरेको छ। ट्रमा सेन्टरमा उपचारका लागि आउने बिरामीमध्ये लडेर घाइते भएका तथा सडक दुर्घटनामा परेका बिरामीको संख्या बढी छ। यो प्रवृत्ति नेपालको दुर्घटना तथा चोटपटकसम्बन्धी समग्र अवस्थासँग मेल खाने अस्पतालको विश्लेषण छ।

अस्पतालमा गम्भीर प्रकृतिका चोटपटक तथा जटिल समस्याका बिरामी आउने भएकाले ठूला र अति जटिल शल्यक्रियाको संख्या पनि उल्लेख्य छ।

प्रयोगशाला र रेडियोलोजी सेवामा उच्च चाप
ट्रमा सेन्टरले प्रयोगशाला, रेडियोलोजी तथा फिजियोथेरापीलगायतका सेवा पनि प्रदान गर्दै आएको छ।

एक वर्षमा प्रयोगशालाबाट करिब दुई लाख ५३ हजार परीक्षण गरिएको छ। यसबाट करिब २७ हजार बिरामीले सेवा लिएका छन्। त्यस्तै, रेडियोलोजी विभागबाट एक वर्षमा करिब एक लाख ४० हजार रेडियोलोजिकल परीक्षण तथा जाँच गरिएको छ।

ट्रमा सेन्टरमा आउने बिरामीको प्रकृति हेर्दा एक्सरे, सिटी स्क्यानलगायतका परीक्षणको आवश्यकता बढी हुने गरेको छ। कतिपय बिरामीको एकभन्दा बढी पटक रेडियोलोजिकल परीक्षण गर्नुपर्ने भएकाले परीक्षणको संख्या उच्च रहेको छ।

आधुनिक सिटी स्क्यान र एमआरआई जडानको तयारी
ट्रमा सेन्टरले पछिल्लो समय आधुनिक स्वास्थ्य उपकरण थप्ने कामलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

अस्पतालले १२८ स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन खरिद प्रक्रिया सम्पन्न गरी जडानको तयारी अघि बढाएको छ। मेसिन वीरगन्ज भन्सारसम्म आइपुगेको र अस्पतालमा आवश्यक पूर्वाधार तथा साइट तयारीको काम भइरहेको छ।

त्यस्तै, एमआरआई मेसिन खरिद प्रक्रिया पनि सम्पन्न भइसकेको छ। मेसिन आपूर्तिको प्रक्रियामा रहेको र पुसको अन्तिम वा माघको पहिलो सातासम्म जडान गर्ने लक्ष्य राखिएको  छ।

यहाँ उल्लेखनीय कुरा के भने, सिटी स्क्यान र एमआरआई खरिद प्रक्रिया सहज थिएन। पुँजीगत खर्च कार्यान्वयनमा सरकारी निकायहरूलाई चुनौती भइरहेका बेला जोखिम मोलेर उपकरण खरिद प्रक्रिया अघि बढाइएको हो। यसअघि पनि एमआरआई खरिदका लागि पटक–पटक प्रयास भए पनि विभिन्न कारणले सफल हुन सकेको थिएन।

अस्पतालमा हाल सञ्चालनमा रहेको सिटी स्क्यान मेसिन १२–१३ वर्ष पुरानो छ। पुरानो मेसिनमा प्रत्येक वर्ष ट्युब तथा बोर्ड बिग्रिने समस्या देखिँदै आएको छ। हाल पनि मेसिन मर्मतको प्रक्रियामा रहेको र आवश्यक पार्टपुर्जा मगाइएको  छ। नयाँ मेसिन जडानसँगै पुरानो मेसिनसमेत मर्मत गरी सञ्चालनमा ल्याउने योजना छ।

जनशक्ति व्यवस्थापन र आन्तरिक दरबन्दी प्रमुख चुनौती

सेवा विस्तारसँगै जनशक्ति व्यवस्थापन ट्रमा सेन्टरको प्रमुख चुनौतीका रूपमा देखिएको छ। हाल अस्पतालको स्वीकृत दरबन्दी २६५ जनाको भए पनि सबै पदमा जनशक्ति पूर्ति हुन सकेको छैन। कतिपय आवश्यक पदहरू तत्कालीन दरबन्दी संरचनामा समावेश नभएकाले सेवा सञ्चालनमा कठिनाइ भइरहेको छ।

अस्पताल सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि आन्तरिक दरबन्दी स्वीकृत हुन नसक्नु अर्को महत्वपूर्ण समस्या हो। हालसम्म धेरै कर्मचारी करार तथा ज्यालादारीमा व्यवस्थापन गरेर सेवा सञ्चालन गर्नुपरेको छ।

यस समस्याको समाधानका लागि अस्पतालले संस्थाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) सम्पन्न गरेको छ। विशेषज्ञहरूको सहभागितामा तयार गरिएको प्रतिवेदन न्याम्सको कार्यकारी परिषद्बाट समेत पारित भइसकेको छ। अब आगामी सिनेटमा प्रस्तुत गरी स्वीकृत गराउने तयारी छ ।

आन्तरिक दरबन्दी स्वीकृत भएमा कर्मचारी व्यवस्थापन व्यवस्थित हुनुका साथै अस्पतालको सेवा प्रवाह र प्रशासनिक कामकारबाही थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

अस्पताललाई पूर्ण डिजिटल बनाउने लक्ष्य

हामीले यतिवेला अस्पतालको सेवा प्रवाहलाई आधुनिक र प्रविधिमैत्री बनाउन डिजिटलाइजेसनलाई प्राथमिकतामा राखेका छौँ ।

नेपाल सरकारको डिजिटलाइजेसनसम्बन्धी कार्यक्रमअन्तर्गत अस्पतालले यस क्षेत्रमा उल्लेखनीय काम अघि बढाएको छ। अस्पतालको ब्याकएन्ड प्रणाली जडान भइसकेको छ भने क्यु म्यानेजमेन्ट प्रणालीसमेत तयार गरिएको छ।

हाल इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) प्रणाली कार्यान्वयनको काम भइरहेको छ। यसका लागि आवश्यक सफ्टवेयर जडान, सर्भर खरिद तथा अन्य प्राविधिक पूर्वाधार व्यवस्थापन भइरहेको  छ।

चालु आर्थिक वर्षको अन्त्यसम्म अस्पताललाई पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्य राखिएको छ। डिजिटल प्रणाली कार्यान्वयन भएपछि बिरामीको विवरण व्यवस्थापन, उपचार अभिलेख, सेवा प्रवाह र प्रशासनिक काममा सहजता आउने अपेक्षा गरिएको छ।

त्यसैगरी, लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका पुराना सामग्री तथा उपकरणको लिलामी प्रक्रिया पनि अन्तिम चरणमा पुगेको  छ।

पुँजीगत खर्च ९८ प्रतिशत
आर्थिक वर्षको पुँजीगत खर्चमा पनि उल्लेखनीय प्रगति गरेको  छ। अस्पतालको पुँजीगत खर्च करिब ९८ प्रतिशत पुगेको छ।

नेपाल सरकारको समग्र पुँजीगत खर्च कार्यान्वयनमा चुनौती देखिएका बेला ट्रमा सेन्टरले उच्च खर्च प्रगति हासिल गरेको  छ। आगामी आर्थिक वर्षमा पुँजीगत खर्च शतप्रतिशत पुर्‍याउने लक्ष्यसहित काम अघि बढाइएको छ।

अस्पतालको वार्षिक बजेट करिब एक अर्ब ३१ करोड रुपैयाँ रहेको  छ। यसमा नेपाल सरकारको अनुदान तथा आन्तरिक स्रोतबाट प्राप्त हुने रकम समावेश छन्।

आन्तरिक आम्दानीमा फार्मेसीको कारोबारको योगदान महत्वपूर्ण छ। फार्मेसीको वार्षिक कारोबार करिब ३० करोड रुपैयाँ रहेको भए पनि औषधि तथा अन्य सामग्री खरिदमा ठूलो रकम खर्च हुने भएकाले वास्तविक नाफा करिब चारदेखि पाँच करोड रुपैयाँ मात्र रहेको अस्पतालले स्पष्ट पारेको छ।

अस्पतालले आफ्नो आयव्यय तथा लेखापरीक्षणसम्बन्धी विवरण सार्वजनिक गर्दै आएको छ।

आईसीयू विस्तारदेखि अस्पतालको भौतिक पूर्वाधार विकाससम्म
ट्रमा सेन्टरमा टाउकोमा गम्भीर चोट लागेका तथा अन्य जटिल अवस्थाका बिरामीको संख्या बढी हुने भएकाले सघन उपचार कक्ष (आईसीयू) विस्तारलाई प्राथमिकतामा राखिएको छ।

अस्पताल विस्तार परियोजनाअन्तर्गत आईसीयू विस्तारका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट करिब १८ करोड रुपैयाँ उपलब्ध भएको छ। उक्त बजेटबाट थप २० देखि २५ शय्याको आईसीयू विस्तार गर्ने लक्ष्य राखिएको छ। यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेलगायतका काम अघि बढाइएको छ।

त्यस्तै, अस्पताल विस्तार परियोजनाअन्तर्गत थप ईएचएस वार्ड निर्माण, मोडुलर अपरेसन थिएटर थप्ने, प्रयोगशालाका लागि आवश्यक स्थान व्यवस्थापन गर्ने र ओपीडी सेवा विस्तार गर्ने योजना रहेको छ।

विभिन्न विभागको आवश्यकताअनुसार थप उपकरण खरिद तथा जडान गर्ने योजना पनि अस्पतालले अघि सारेको छ।

सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने अवसर
राष्ट्रिय ट्रमा सेन्टरले आफूलाई देशकै विशिष्टीकृत तथा उत्कृष्ट ट्रमा उपचार केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखेको छ।

नेपाल सरकारले सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने अवधारणा अघि सारेको सन्दर्भमा राष्ट्रिय ट्रमा सेन्टरलाई केन्द्रीय तथा विशिष्टीकृत उपचार केन्द्रका रूपमा विकास गर्न सकिने हाम्रो विश्वास छ।

प्रदेशस्तरमा स्थापना हुने ट्रमा सेन्टरसँग समन्वय र सहकार्य गर्दै राष्ट्रिय ट्रमा सेन्टरलाई उत्कृष्टता केन्द्र (सेन्टर अफ एक्सिलेन्स) का रूपमा विकास गर्ने सम्भावना रहेको छ।

अस्पतालको अर्को महत्वपूर्ण सबल पक्ष दक्ष स्वास्थ्यकर्मीको टोली, सामूहिक कार्यसंस्कृति र अनुशासन रहेको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तथा नेपाल सरकारको सहयोगले पनि संस्थाको सेवा विस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ।

तर, अस्पतालको विस्तारका लागि पर्याप्त भौतिक स्थान नहुनु सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको छ। बिरामीको चाप बढ्दै गएको अवस्थामा थप वार्ड, आईसीयू, अपरेसन थिएटर तथा अन्य सेवा विस्तार गर्न आवश्यक स्थानको अभाव छ।

विशिष्टीकृत ट्रमा सेवाको आवश्यकता र भविष्य
नेपालमा सडक दुर्घटना, लडेर हुने चोटपटक तथा अन्य आकस्मिक दुर्घटनाबाट घाइते हुने बिरामीको संख्या उल्लेख्य छ। यस्ता बिरामीलाई समयमै विशेषज्ञ उपचार उपलब्ध गराउन ट्रमा सेन्टरको भूमिका महत्वपूर्ण हुन्छ।

स्थापनादेखि सञ्चालनसम्म अनेकौँ चुनौती सामना गरेको राष्ट्रिय ट्रमा सेन्टरले पछिल्लो समय बिरामीको बढ्दो चाप व्यवस्थापन गर्दै आधुनिक उपकरण, विशिष्टीकृत शल्यक्रिया, सघन उपचार, जनशक्ति व्यवस्थापन र डिजिटल स्वास्थ्य प्रणालीको विकासमा जोड दिएको छ।

तर सेवा विस्तारसँगै भौतिक पूर्वाधार, दक्ष जनशक्ति, स्थायी दरबन्दी र उपकरणको नियमित मर्मतसम्भारमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। यी चुनौती समाधान गर्न सके राष्ट्रिय ट्रमा सेन्टरलाई देशभरका ट्रमा उपचार सेवाको नेतृत्व गर्ने केन्द्रीय संस्थाका रूपमा विकास गर्न सकिनेछ।

यसका लागि सातै प्रदेशमा ट्रमा उपचार सेवा विस्तार गर्ने सरकारी योजनासँग राष्ट्रिय ट्रमा सेन्टरको संस्थागत क्षमता र विशेषज्ञतालाई जोड्नु आवश्यक छ। त्यसो हुन सके दुर्घटना तथा चोटपटकका बिरामीलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउने राष्ट्रिय लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्नेछ।

#राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. मरासिनीले १३ औँ बार्षिकोत्सवको अवसरमा प्रस्तुत प्रगति विवरणको सम्पादित अंश

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *