वैद्यखानाको औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याउने सरकारको तयारी
दुई विभागीय मन्त्रीबीच छलफल
काठमाडौं, १८ कात्तिक । सिंहदरबार वैद्यखानाको संस्थागत क्षमता अभिवृद्धि, औषधि उत्पादनको गुणस्तर सुधार तथा आधुनिक प्रविधिको प्रयोगमार्फत उत्पादन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्ने विषयमा दुई मन्त्रीबीच छलफल भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनबीच मंगलबार भएको छलफलमा वैद्यखानाको उत्पादन तथा अनुसन्धान प्रणालीलाई समयानुकूल बनाउँदै यसको प्रभावकारिता र प्रतिस्पर्धात्मक क्षमता बढाउने विषयमा छलफल भएको हो ।
छलफलमा वैद्यखानाको अनुसन्धान प्रयोगशाला विकास, औषधिको गुणस्तर परीक्षण तथा उत्पादन प्रणालीमा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको छ ।
त्यसैगरी, वैद्यखानाबाट उत्पादित औषधिलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिने सम्भावना र त्यसका लागि आवश्यक पूर्वाधार तथा प्राविधिक क्षमता विकास गर्ने विषयमा पनि छलफल भएको छ ।
वैद्यखानाको उत्पादन प्रणालीलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निर्धारण गरेका मापदण्डअनुरूप स्तरोन्नति गर्नुपर्नेमा दुवै मन्त्रीले जोड दिनुभएको छ । यसबाट उत्पादित औषधिको गुणस्तर र विश्वसनीयता बढाउनुका साथै अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न सहयोग पुग्ने छ ।
वैद्यखानाको संस्थागत सुधार र प्राविधिक क्षमता विकासका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयबीच समन्वय र सहकार्य अघि बढाउने विषयमा समेत छलफल भएको छ । दुई मन्त्रालयबीच यससम्बन्धी समझदारीपत्र (एमओयू) गर्ने प्रस्तावबारे पनि छलफल भएको जनाइएको छ ।
छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सचिव दीनानाथ मिश्रको समेत सहभागिता रहेको थियो ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



