विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशक पदबाट हसिना पुत्री साइमाले दिइन् राजीनामा
नयाँ दिल्ली । विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रकी क्षेत्रीय निर्देशक साइमा वाजेदले बुधबार आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनी अपदस्थ बंगलादेशी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् ।
रोयर्टसका अनुसार वाजेदले विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेसुसलाई पठाएको राजीनामा पत्रमा आफूले संगठनको नेतृत्वप्रति विश्वास गुमाएको बताएकी छन्। उनीमाथि आर्थिक ठगी, शैक्षिक योग्यताबारे गलत विवरण दिएको तथा बंगलादेशमा जग्गा गैरकानुनी रूपमा प्राप्त गरेको आरोपमा अनुसन्धान भइरहेको छ। वाजेदले भने सबै आरोप अस्वीकार गर्दै आएकी छन्।
सन् २०२४ को सुरुवातमा पाँच वर्षका लागि दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशकमा निर्वाचित भएकी वाजेदलाई गत वर्षदेखि नै बेतलबी प्रशासनिक बिदामा राखिएको थियो।
बंगलादेशको भ्रष्टाचारविरोधी आयोगले सन् २०२५ को मार्चमा उनीविरुद्ध ठगी र किर्तेसम्बन्धी आरोप लगाउँदै मुद्दा दायर गरेको थियो। त्यसपछि उनलाई जुलाई २०२५ मा पहिलोपटक बिदामा पठाइएको थियो।
विश्व स्वास्थ्य संगठनले वाजेदमाथि चीन भ्रमणका क्रममा आर्थिक ठगी गरेको र आफ्नो शैक्षिक योग्यताबारे गलत जानकारी दिएको आरोप लगाएको थियो। वाजेदका वकिलहरूले भने चीन भ्रमणसँग सम्बन्धित करिब ९०१ अमेरिकी डलरको खर्च फिर्ता माग्ने प्रक्रियामा सहयोगीबाट प्रशासनिक त्रुटि भएको बताएका छन्।
शैक्षिक योग्यतासम्बन्धी आरोप पनि उनले अस्वीकार गरेकी छन्। उनले अटिजमसम्बन्धी आफ्नो कामका लागि आफूले मानार्थ विद्यावारिधि प्राप्त गरेको र त्यसबारे विश्व स्वास्थ्य संगठनका महानिर्देशकलाई पहिल्यै स्पष्ट जानकारी गराएको बताएकी छन्।
‘विश्व स्वास्थ्य संगठनको नेतृत्वप्रति मेरो विश्वास रहेन’
महानिर्देशक टेड्रोसलाई पठाएको राजीनामा पत्रमा वाजेदले आफू क्षेत्रीय निर्देशक पदमा निर्वाचित भएर आफ्नो क्षेत्रका देशहरूको सेवा गर्न आएको र इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गरेको बताएकी छन्।
उनले भनेकी छन्, “तपाईंले मलाई प्रभावकारी रूपमा आफ्नो जिम्मेवारी पूरा गर्नबाट निरन्तर रोकिरहनुभएकोले तपाईंको नेतृत्वप्रति मेरो विश्वास र भरोसा गुमेको छ।”
वाजेदले आफूलाई करिब एक वर्षदेखि कुनै पारिश्रमिक नदिइएको र यसका कारण आफ्नो आर्थिक अवस्था निकै कठिन बनेको पनि उल्लेख गरेकी छन्।
उनले भनिन्, “यी परिस्थितिमा मैले पदबाट अलग हुने निर्णय गरेकी छु।”
नयाँ क्षेत्रीय निर्देशकका लागि निर्वाचन हुने तयारी
स्रोतका अनुसार विश्व स्वास्थ्य संगठनले वाजेदलाई औपचारिक रूपमा पदबाट हटाउने तयारी गरिरहेको थियो। नयाँ क्षेत्रीय निर्देशकका लागि अक्टोबर १२ मा उम्मेदवारी आह्वान गर्ने, डिसेम्बरमा उम्मेदवारहरूको छानबिन गर्ने र जनवरी २४ मा निर्वाचन गर्ने तयारी भइरहेको थियो।
क्षेत्रीय निर्देशकहरू विश्वका प्रभावशाली स्वास्थ्य नीति अधिकारीहरूमध्ये पर्छन्। उनीहरूको जिम्मेवारीमा रोगको प्रकोप तथा स्वास्थ्य आपत्कालीन अवस्थाको सामना गर्ने, स्वास्थ्यसम्बन्धी नीति कार्यान्वयन गर्ने र सम्बन्धित क्षेत्रको परिस्थितिअनुसार विश्व स्वास्थ्य संगठनका नीतिहरूलाई अनुकूल बनाउने काम पर्छ।
क्षेत्रीय निर्देशक प्रत्येक पाँच वर्षमा सदस्य राष्ट्रहरूबाट निर्वाचित हुन्छन्। दक्षिण–पूर्वी एसिया क्षेत्रअन्तर्गत बंगलादेश र भारतलगायतका देशहरू सदस्य छन्।
हसिना परिवारमाथि बढ्दो दबाब
वाजेदको राजीनामालाई सन् २०२४ मा शेख हसिना सत्ताबाट हटेपछि उनको परिवारमाथि बढ्दै गएको दबाबको अर्को महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
हसिनाविरुद्ध बंगलादेशमा विभिन्न आरोपमा मुद्दा चलिरहेको छ भने उनका धेरै राजनीतिक सहयोगीमाथि पनि भ्रष्टाचारलगायतका आपराधिक आरोप लगाइएको छ। हसिना स्वयं बंगलादेशबाहिर निर्वासनमा बसिरहेकी छन्।
वाजेदले भने आफूले पदबाट राजीनामा दिनु व्यक्तिगत निर्णय भएको बताएकी छन् र आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै आएकी छन्।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



