नेपालको चिकित्सा शिक्षाको इतिहास र सुदूरपश्चिमको ऐतिहासिक अवसर

नेपालमा आधुनिक चिकित्सा शिक्षाको औपचारिक सुरुवात वि.सं. २०३५ (सन् १९७८) मा महाराजगञ्जस्थित इन्स्टिच्युट अफ मेडिसिन (IOM) बाट एमबीबीएस कार्यक्रम प्रारम्भ भएपछि भएको हो। त्यसयता चिकित्सा शिक्षाको विस्तार हुँदै देशका विभिन्न प्रदेशमा मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू स्थापना भए।
कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान वि.सं. २०६८ (सन् २०११) मा स्थापना भएको हो। त्यसपछि आवश्यक पूर्वाधार निर्माण, शिक्षण अस्पतालको विकास तथा नियामक निकायहरूको स्वीकृतिपछि प्रतिष्ठानले एमबीबीएस कार्यक्रम सञ्चालन गर्न सफल भयो। यसले दुर्गम क्षेत्रमा पनि गुणस्तरीय चिकित्सा शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने ऐतिहासिक आधार तयार गर्यो।
यसैबीच, नेपालमा आधुनिक चिकित्सा शिक्षा सुरु भएको ४९ वर्षपछि सुदूरपश्चिमले आफ्नै भूमिमा चिकित्सा शिक्षा सञ्चालन गर्ने ऐतिहासिक अवसर प्राप्त गर्न लागेको छ। यो केवल एउटा विश्वविद्यालय सञ्चालन हुने विषय मात्र होइन, दशकौँदेखि सुदूरपश्चिमका नागरिकले देख्दै आएको सपना साकार हुने महत्वपूर्ण क्षण हो। आफ्नै प्रदेशमा विशिष्टीकृत स्वास्थ्य सेवा, दक्ष चिकित्सक उत्पादन तथा स्वास्थ्य क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने दिशामा यो ऐतिहासिक उपलब्धि हुनेछ।
धनगढीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको प्रक्रिया अहिले अन्तिम चरणमा पुगेको छ। हामीले निर्वाचनपछि सरकार गठन गरेसँगै यस विश्वविद्यालयलाई प्राथमिकतामा राखेर निरन्तर पहल गरेका थियौँ। सम्बन्धित निकाय, विश्वविद्यालयका पदाधिकारी, स्थानीय समुदाय तथा यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरूको सक्रिय प्रयासका कारण अब सुदूरपश्चिममा चिकित्सा शिक्षा सुरु हुने वातावरण बनेको छ।
यद्यपि, विगतमा जस्तै सुदूरपश्चिममा हुने विकासलाई विभिन्न बहानामा रोक्ने वा ढिलाइ गराउने प्रवृत्ति दोहोरिने हो कि भन्ने चिन्ता अझै पनि छ। विश्वविद्यालय सञ्चालन भएपछि कुनै अनियमितता, कमजोरी वा कानुनविपरीत गतिविधि भए त्यसको निष्पक्ष छानबिन र कानुनी कारबाही हुनुपर्छ। सुशासनमा कुनै सम्झौता हुन सक्दैन र हुनु पनि हुँदैन।
तर, विश्वविद्यालय सञ्चालन नै हुन नपाउँदै केवल आशंका र अनुमानका आधारमा प्रक्रिया अवरुद्ध गर्ने प्रयास गर्नु उचित हुँदैन। यसले सुदूरपश्चिमका हजारौँ विद्यार्थी, स्वास्थ्यकर्मी र आम नागरिकको दशकौँदेखिको सपनामाथि नै आघात पुर्याउनेछ।
आज आवश्यक कुरा विरोध होइन, जिम्मेवार सहयोग हो। सुदूरपश्चिमले पनि अन्य प्रदेशसरह आफ्नै भूमिमा चिकित्सा शिक्षा र विशिष्टीकृत स्वास्थ्य सेवा पाउने अधिकार राख्छ। नेपालमा चिकित्सा शिक्षा सुरु भएको ४९ वर्षपछि आएको यो ऐतिहासिक अवसरलाई सफल बनाउनु हामी सबैको साझा दायित्व हो।
#डा. चन्द कैलाली क्षेत्र नं ५ बाट निर्वाचित सांसद हुन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com





