आइतबार सरकारी अस्पतालको सेवा : स्वास्थ्य मन्त्रालय अन्तर्गतका खुल्ला, शिक्षा मन्त्रालय अन्तर्गतका बन्द

340
Shares

काठमाडौँ, २८ चैत । सरकारी सेवा सातामा दुई दिन (शनिबार र आइतबार) विदा गर्ने निर्णयको कार्यान्वयन सरकारी अस्पतालमा फरक देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका अस्पतालहरुले आइतबार ओपिडी लगायतका सेवा पहिले जस्तै खुल्ला राख्ने बताएका छन् । तर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका ठूला सरकारी अस्पतालमा आइतबारको ओपिडी लगायतका सेवा बन्द रहने छ ।

स्वास्थ्य अन्तर्गतका वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भरतपुर अस्पताल, भक्तपुर अस्पतालहरुले अघिल्ला आइतबार जस्तै गरी सेवालाई निरन्तरता दिने बताएका छन् । ती अस्पतालका प्रमुखहरुले विदाका दिन आएर नियमित सेवा दिने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई विदा तथा सुविधाका विषयमा थप निर्णय हुने आश्वासन दिएका छन् ।

तर शिक्षा मन्त्रालय अन्तर्गतका त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले आइतबारको सेवा बन्द रहने बताएका छन् । उनीहरुले गत साताको मन्त्रिपरिषद्को निर्णय अनुसार शनिबार जस्तै आइतबार पनि ओपिडी सेवा बन्द रहने उल्लेख गरेका छन् ।

फरक मन्त्रालयबाट सञ्चालित ठूला सरकारी अस्पतालमा कतै विदा र कतै सञ्चालन हुने सूचनाले आम नागरिक भने अलमलमा परेका छन् । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले पनि एउटै निर्णयलाई फरक फरक ढंगबाट व्याख्या गरी फरक फरक तरिकाबाट लागू गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

यता नेपाल चिकित्सक संघ, आयुर्वेद चिकित्सक संघ लगायतले पनि आइतबार विदा हुनु पर्ने बताएको छ । उसले सरकारको निर्णय स्वास्थ्य मन्त्रालय अन्तर्गतका चिकित्सकहरुलाई फरक भएको भन्दै त्यसो नगर्न आग्रह गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *