मोटोपन सम्बन्धि दोस्रो अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

काठमाडौँ, २८ चैत । मोटोपन सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । साउथ एशियन ओबिसिटी फोरमको आयोजनामा आज देखि सुरु सम्मेलनमा १०० बढी अन्तराष्ट्रिय विज्ञहरुसहित ४०० जनाको सहभागिता छ ।
सम्मेलनबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फोरमकी अध्यक्ष तथा इन्डोक्राइनोलोजिष्ट डा डिना श्रेष्ठले नेपाल लगायत साउथ एशियामा मोटोपन ठूलो स्वास्थ्य समस्याका रुपमा आएको र यसलाई कम गर्न संयुक्त रुपमा के कस्ता कार्यक्रम गर्न सकिन्छ भनेर सम्मेलनको आयोजना गरिएको जानकारी दिइन ।
सम्मेलनमा सहभागी भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशका विज्ञहरुले मोटोपन कम गर्न सबैले एकवद्ध भएर काम गर्ने बेला आइसकेको धारणा व्यक्त गरे । उनीहरुले मोटोपनकै कारण मधुमेह, मुटुरोग, मिर्गौला रोग तथा श्वासप्रश्वासमा समेत समस्या बढेको भन्दै मोटोपनलाई व्यवास्ता गर्न नहुनेमा जोड दिए ।
उनीहरुले मोटोपन पनि दुई प्रकारको हुने बताए । पहिलो बाहिरबाटै देखिने र अर्को बाहिर हेर्दा दुब्लो पातलो भए पनि भित्री अंगमा हुने मोटोपन । दोस्रो मोटोपन अझ हानिकारण हुने समेत उनीहरुको भनाई थियो । दुब्लो भए पनि भित्री मोटोपनले सताउन सक्ने हुँदा जाँच गर्न आवश्यक रहेको समेत उनीहरुको भनाई थियो ।
कार्यक्रममा आयोजक संस्थाका तर्फबाट वरिष्ठ इन्डोक्राइनोलोजिष्ट तथा लाइफस्टाइल कोच समेत रहेका डा सन्तोष शाक्यले मोटोपनलाई कम गर्न सबैले आ आफनो तर्फबाट प्रयास गर्नपर्ने र त्यसका लागि पहिलो मन्त्रका रुपमा आहार, विहार र विचारमा ध्यान दिनपर्ने बताए ।
सम्मेलनमा मोटोपनले निम्त्याएका समस्या, यसको उपचारमा प्रयोग हुने औषधि लगायत विविध पक्षमा व्यापक छलफल हुने डा शाक्यले जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 