जर्मनीका लागि नेपालका राजदूत डा. शैलले दिए राजिनामा, अब चिकित्सा पेशामै फर्किने

काठमाडौँ, २८ चैत । जर्मनीका लागि नेपालका राजदूत डा. शैल रुपाखेतीले पदबाट राजिनामा दिएका छन् । गत २५ चैतमा परराष्ट्र मन्त्रीलाई सम्वोधन गर्दै दिएको उनको राजिनामा मन्त्रालयले २६ चैतमा स्वीकृत गरेको छ ।
उनलाई २०८१ असोज ३ गते बसेको संसदीय समितिले जर्मनीका लागि नेपालका राजदूतका रुपमा अनुमोदन गरेको थियो ।
त्यसबेला अरु १६ जना राजदूतको समेत टुंगो लागेको थियो । १६ मंसिर २०८१ मा राष्ट्रपति रामचन्द्र पौडेलसंग सपथ लिएर उनी मंसीरको तेस्रो साता जर्मनी प्रस्थान गरेका थिए ।
जेनजी आन्दोलन पछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले भने गत ३० असोजमा उनी सहित अघिल्लो सरकारले गरेका विभिन्न ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तर सो निर्णय विरुद्ध राजदूतहरु सर्बोच्च अदालत गए । सर्बोच्चले पनि उनीहरुले भने अनुसार अन्तरिम आदेश दिएको थियो ।
अन्तरिम आदेश पछि डा रुपाखेतीले सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा हाजिर हुँदै आएका थिए । उनले राजिनामा पत्रमा सर्बोच्चको अन्तरिम आदेश संगै सरकारले पठाएको दोस्रो पत्र बमोजिम नेपाल फर्केर परराष्ट्र मन्त्रालयमा हाजिर भएको र सो अवधीदेखि राजिनामा दिने बेलासम्म कुनै तलव सुविधा नलिएको बताए । कानुन पालन गर्ने नागरिकको रुपमा अदालतको मान राखी हाजिर भएको हुँ उनले भनेका छन् ।
नयाँ सरकारले राजदूत फिर्ता बोलाउने तथा नयाँ नियुक्ती गर्ने पूर्ण अधिकार पाएको हुनाले आफूले राजिनामा दिएको उल्लेख गरेका छन् । साथै उनले अब पुन चिकित्सा पेशामा फर्किने बताएका छन् ।
डा रुपाखेतीले जर्मनीका लागि नेपालका आवासीय राजदूत संगै चेक गणतन्त्र, पोल्याण्ड, रोमानिया, होलीसी , सर्बिया, बुल्गेरिया, स्लोभाकिया, हंगेरी र युक्रेनका लागि गैर आवासीय राजदूतको जिम्मेवारी पाएका थिए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 