बीएम फाउण्डेशनले गर्‍यो स्याङ्जाको बिरुवामा निशुल्क आँखा शिविर, ५१४ जना लाभान्वित

8
Shares

स्याङ्जा, २६ चैत । बिरुवा गाउँपालिकाको तीन वटा वडामा तीन दिनसम्म सञ्चालन गरिएको निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

गत २३ देखि २५ चैतसम्म चलेको शिबिरको मुख्य आयोजक गाउँपालिका थियो ।  तर शिविरका लागि समन्वय तथा प्राविधिक व्यवस्थापनको जिम्मा सह आयोजकको रुपमा रहेको बीएम फाउण्डेशनले लिएको थियो । उक्त शिविरमा गरिमा विकास बैंक तथा ताइवान प्रिभेन्ट ब्लाइन्डनेश (टीपीबी) फाउण्डेशन साथै कान्तिपुर डेन्टल कलेज लगायतका संस्थाको सहयोग थियो ।

बीएम फाउण्डेशनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले तीन दिनसम्म चलेको शिविरमा ५१४ जनाको आँखा परीक्षण भएको बताए । उनले परीक्षणबाट ४० जनाको आँखामा मोतिविन्दु भएको पाइएको जानकारी दिए । डा. श्रेष्ठले उनीहरुको थप उपचारका लागि फाउण्डेशनले सहयोग र समन्वय गर्ने जानकारी दिए ।

गाउँपालिकाका विभिन्न वडाहरूमा सञ्चालन गरिएको शिविरको पहिलो दिन वडा नं. ६, बिरुवा आधारभूत अस्पताल, चिन्येबासमा २२० जनाको आँखा परीक्षण गरिएको थियो । त्यस क्रममा २० जनामा मोतिबिन्दु फेला परेको थियो।

दोस्रो दिन वडा नं. ४ को ओरष्टेमा शिविर सञ्चालन गरिएको थियो । जसमा १७० जनाले परीक्षण गराएका थिए । त्यसमध्ये ८ जनामा मोतिबिन्दु देखिएको थियो ।

अन्तिम दिन वडा नं. ३, खालिगाउँमा राखिएको शिविरमा १२४ जना परीक्षणका लागि आएका थिए । ती मध्ये १२ जनामा मोतिबिन्दु पहिचान गरिएको थियो।

शिविरमा आँखा जाँचसँगै आँखा स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम पनि सञ्चालन गरिएको थियो। आवश्यक पर्नेहरुका लागि निशुल्क औषधी र चस्मा समेत वितरण भएको थियो ।

‘करीव एक लाख रुपैयाँ बराबरको औषधी निशुल्क वितरण भयो । यस्तै ३३० वटा निशुल्क चस्मा वितरण गरियो,’ डा. श्रेष्ठले भने । यस्तै गरी शिविरमा सहभागीहरूलाई आँखा रोगको रोकथाम, समयमै जाँचको महत्त्व तथा उचित हेरचाहका उपायबारे जानकारी दिइएको थियो।

स्थानीय बासिन्दाहरूले यस्तो निःशुल्क स्वास्थ्य सेवाबाट लाभान्वित भएको बताउँदै आयोजकप्रति आभार व्यक्त गरेका छन्।

आयोजकहरूले भविष्यमा पनि यस्ता जनस्वास्थ्य सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *