जनभोजन कार्यक्रम स्थलमा आँखा शिविर, १४३ जनामा देखियो मोतिविन्दु

काठमाडौँ । प्रेमसागर फाउण्डेसन नेपालद्वारा धादिङ जिल्लाको थाक्रे गाउँपालिका ५, तसर्पु दामेचौरमा आयोजित जनभोजन कार्यक्रममा गरिएको दुई दिने आँखा जाँच शिविरबाट १४३ जनामा मोतिविन्दुको समस्या भएको पाइएको छ ।
गत १४ र १५ चैतमा चलेको शिविरमा कुल १ हजार १०१ जनाको आँखा जाँच गरिएको थियो । त्यसमा ६९७ जना पुरुष र ४०४ जना महिला थिए ।
फाउण्डेसनका उपाध्यक्ष डा. प्रेम राज ढुङ्गेलले शिविर पछि ४५५ जनालाई चस्मा र ४३८ जनालाई औषधी निशुल्क वितरण गरिएको बताए । उनले १४३ जनामा मोतिविन्दु रहेको पहिचान गरी शल्यक्रियाका लागि सिफारिस गरिएको जानकारी दिए ।
शिविरमा थाक्रे गाउँपालिका र थाहा नगरपालिकाका ९ वडाका गरी कुल ६१ गाउँहरूबाट आएका सेवाग्राहीहरूमा ९२ वर्षसम्म उमेर भएका ३०१ जना जेष्ठ नागरिक र १८ महिनादेखि माथि उमेर भएका २५७ जना बालबालिकाहरू रहेको बताइएको छ ।
फाउण्डेसनका महासचिव दुर्गादत्त घिमिरेले खराब मौसम हुँदाहुँदै त्यस भेगका नागरिकको ठूलो सहभागिताु छ भनेर आँखा शिविरको आयोजना गरिएको भन्दै तर राजधानीबाट दुई घण्टा दुरीको गाउँमा यति धेरै मोतिविन्दुको समस्या हुनु अचम्मको विषय भएको बताए ।

शिविरमा संलग्न वरिष्ठ नेत्र विशेषज्ञ डा. दिपक खड्काका अनुसार शिविरमा आएकामध्ये मोबाइल र ल्यापटप बढी हेर्ने गरेका कारण बालबालिकाहरुमा रिफ्र्याक्सन, उमेर पुगेकाहरूलाई मोतिविन्दु , आँखा चिलाउने र मासु पलाउने समस्याहरू देखिएको छ । उनले ४० वर्ष कटेकाहरूमा सुक्खा आँखा र नजिकको नदेख्ने समस्या रहेको देखिएको बताए ।
थाक्रे गाउँपालिका ८ का वडा सदस्य राज कुमार गुरूङले सुव्यवस्थित शिविर सञ्चालन गरेकामा धन्यवाद व्यक्त गरे । दामेचौरमा विगत १६ वर्षदेखि जनभोजन कार्यक्रम सञ्चालन भइरहेको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 