अटिजम भएका बालबालिकाका लागि सातै प्रदेशमा नमूना विद्यालय स्थापना गर्ने सरकारको निर्णय

32
Shares

काठमाडौँ, २० चैत । सरकारले सातवटै प्रदेशमा एक एक वटा अटिजममा आधारित नमूना विद्यालय स्थापना गर्ने भएको छ । विश्व अटिजम सचेतना दिवसको अवसर पारेर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो घोषणा गरेको हो ।

बिहीबार शिक्षा मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आयोजित घोषणा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको समेत उपस्थिति थियो ।

सो अवसरमा मन्त्री पोखरेलले अटिजम भएका बालबालिकाको शिक्षा र समावेशी विकासलाई प्राथमिकता दिँदै सातै प्रदेशमा नमुना विद्यालय स्थापना गर्ने घोषणा गरिएको बताए ।

उनले आगामी वर्ष भित्र सञ्चालनमा आउने गरी प्रत्येक प्रदेशमा एक(एक वटा अटिजममा आधारित नमुना विद्यालय (अटिजम बेस्ड मोडल स्कुल) स्थापना गर्ने बताए ।

मन्त्री पोखरेलका अनुसार यी विद्यालयहरूमा अटिजम भएका बालबालिकाको आवश्यकतालाई ध्यानमा राखी विशेष शैक्षिक पद्धति, तालीम प्राप्त शिक्षक तथा उपयुक्त भौतिक पूर्वाधारको व्यवस्था गरिनेछ।

हाल नेपालमा अटिजम भएका बालबालिकाका लागि पर्याप्त शैक्षिक संरचना र सेवाहरूको अभाव रहेको छ । सरकारको यो घोषणाले बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको शैक्षिक तथा मनोवैज्ञानिक विकासमा निकै ठूलो सहयोग हुने सरोकारवालाले बताएका छन् ।

त्यसो त मन्त्रालयले विशेषगरी बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवासीय विद्यालय सञ्चालन तथा पूर्वाधार विकासमा समेत जोड दिने जनाएको छ।

‘हामीले आगामी आर्थिक वर्षभित्र विद्यालय स्थापना प्रक्रिया अगाडि बढाउने योजना बनाएको छौँ,’ शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने,  ‘यसका लागि विभिन्न मन्त्रालयबीच समन्वय गरिनेछ।’

सापकोटाका अनुसार आगामी आर्थिक वर्षमा सातवटै प्रदेशमा एक एक वटा अटिजममा आधारित नमूना विद्यालय स्थापनाका लागि शहरी विकास तथा भवन निर्माण विभागले भौतिक पूर्वाधार सम्वन्धी विषय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालनको कार्यढाचा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अटिजम भएका बालबालिकाको लागि सहयोग प्रदान गर्ने र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सम्बन्धित क्षेत्रमा कार्यरत संस्थाहरूसँग सहकार्य गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक स्वास्थ्य सेवामा सहयोग पुर्‍याउने उल्लेख छ ।

कार्यक्रम कार्यान्वयनका लागि प्राविधिक समिति गठन गरिएको छ। उक्त समितिले अवधारणापत्र तयार गरी विद्यालय स्थापना तथा सञ्चालनसम्बन्धी बिस्तृत खाका तयार गर्ने जिम्मेवारी पाएको छ।

नेपालमा अटिजमबाट कति प्रभावित छन् भन्ने अहिलेसम्म एकीन तथ्यांक छैन तर सेन्टरफर डिजिज कन्ट्रोल (सीडीसी) का अनुसार हरेक ३१ जनामध्ये १ बच्चा अटिजमको अवस्था लिएर जन्मने देखाईएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *