बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको निधन

काठमाडौँ, २० चैत । नेपालको बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा प्रकाशराज न्यौपानेको निधन भएको छ । क्यान्सर रोगबाट ग्रसित उनको आज विहान पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी ६४ वर्षका थिए ।

पाटनमा मेडिकल अंकोलोजिष्ट डा अरुण शाहीको टिम उनको उपचारमा सम्लग्न थियो ।

अस्पतालले विहान ५ : ५८ बजे डा न्यौपानेको निधन भएको पुष्टी गरेको छ ।

डा शाहीका अनुसार डा न्यौपाने पछिल्लो एक वर्ष देखि पित्त बग्ने नलीमा हुने एक प्रकारको क्यान्सर (कोलान्जिओ कार्सिनोमा)बाट ग्रसित थिए । पछिल्लो एक महिना देखि उनी पाटन अस्पतालमै भर्ना भई उपचार गराईरहेका थिए ।

डा शाहीले न्यौपानेको मृत्युबाट नेपालको क्यान्सर उपचारको क्षेत्रलाई अपुरणीय क्षति पुगेको बताए । ‘उहाँ नेपालका एक बरिष्ठ र अनुभवी क्यान्सर रोग विशेषज्ञ (सर्जिकल अंकोलोजिष्ट) हुनुहुन्थ्यो उहाँले लामो समयदेखि क्यान्सरको शल्यक्रिया र उपचारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको थियो । उहाँको निधनले हामीलाई स्तव्ध बनाएको छ,’ डा  शाहीले भने ।

बरिष्ठ कन्सल्टेन्ट सर्जिकल अंकोलोजिस्टको रुपमा रहेका डा न्यौपाने पेट, कलेजो, प्यान्क्रियाज, थाइरोइड, स्तन, मृगौला र छालाको क्यान्सरको शल्यक्रियामा विशेषज्ञ थिए । उनी भक्तपुर क्यान्सर अस्पतालको पूर्व मेडिकल डाइरेक्टर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (चितवन) को पूर्व अध्यक्ष थिए ।

पछिल्लो समय उनले बीएण्डबी ललितपुर, काठमाडौँ क्यान्सर सेन्टर भक्तपुर, नेपाल अर्वुद रोग निवारण संस्थासंग समेत आवद्ध थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *