काठमाडौँ महानगरमा प्राथमिक उपचारकर्ता उत्पादन गर्ने तालीम सुरु

44
Shares

काठमाडौँ, १६ चैत । हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित काठमाडौँ महानगरपालिकाले आइतबार देखि तालीम सुरु गरेको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा महानगरले आइतबार वडा नं १ नक्साल र वडा नं १२ टेकुमा तालीम थालेको हो ।

तालीममा वडा नं. १२ मा १० जना महिला र १५ जना पुरुष छन् भने वडा नं. १ मा ६ जना पुरुष र १९ जना महिला प्रशिक्षार्थी छन् । यसप्रकारको तालीम सञ्चालन गर्न महानगरले गत ५ चैतमा नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखासँग सम्झौता गरेको थियो ।

‘प्राथमिक उपचार तालीममा दक्षता प्राप्त गर्नु जीवन बनाउने ठूलो योग्यता प्राप्त गर्नु हो । यसकारण तालीमका लागि चाहिने समय दिनुहोला’ तालीम प्रारम्भका अवसरमा वडा नं १२ का अध्यक्ष एवं वातावरण समितिका संयोजक वालकृष्ण महर्जन र वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठले साझा धारणा राख्दै भने, ‘तपाईँहरुले सिकेको सिप आपतकाल व्यवस्थापन गर्न प्रयोगमा आउनेछ । अकालमा ज्यान जानबाट बचाउन काम लाग्नेछ।’

‘यसरी लिएको तालीमबाट प्राप्त गरेको प्रमाण पत्रले नेपाल सहित १९२ देशमा मान्य हुनेछ,’ रेडक्रस सोसाइटी काठमाडौँका सभापति श्यामकाजी डोटेलले भने, ‘दुर्घटना, चोटपटक वा स्वास्थ्यजन्य आपतकालीन परिपस्थितिमा आफू नजिक रहेका साधन तथा वस्तुको उपयोग अवस्था विग्रिन नदिने, स्थिर बनाउने र सुधार गराउने तालिमको उद्देश्य हो ।’

दुर्घटना, चोटपटक, अचानक विरामी पर्ने अवस्था जस्ता स्वास्थ्यजन्य आपतकालीन परिस्थितिमा विरामीलाई अस्पताल पु¥याउनु अघि अवस्था थप विग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो । स्वास्थ्य महाशाखा प्रमुख नःली बज्राचार्यले स्वीकृत मापदण्डअनुसारको तालिम सञ्चालन थालिएको भनिन् ।

सम्झौता बमोजिम हरेक वडामा २५ जनाको समूहलाई तालीम प्रदान गरिनेछ । तालीमको तयारीका लागि वडा कार्यालय र स्वास्थ्य प्रवर्धन केन्द्रसँग तयारी बैठक हुनेछ । हरेक वडाको तालीम सञ्चालन गर्न १ लाख ६३ हजार ८५० रुपियाँ खर्च हुनेछ । सोसाइटीले आउँदो असार १० गतेभित्र सबै वडामा तालीम सम्पन्न हुने जनाएको छ ।

तालीममा के के सिकाइन्छ ?

महानगरका अनुसार तालीममा दुर्घटना स्थलमा आफ्नो र घाइतेको सुरक्षा, घाइतेको अवस्था प्रारम्भिक जाँच, मुटुको धड्कन वा श्वासप्रश्वास बन्द भएको व्यक्तिलाई छाती थिचेर र कृतिम श्वास दिएर पुनर्जीवित गराउने विधि (सीपीआर) , रक्तश्राव नियन्त्रण गर्ने तरिका सिकाइन्छ ।

यस्तै शरीरबाट रगत बग्दा, नाकबाट रगत बग्द नियन्त्रण गर्ने, हड्डी भाँचिएको वा मर्किएको थाहा पाउने, घाँटीमा केही अड्किएको निकाल्ने, आगो, तातो पानी वा कुनै रसायनले पोल्दा गर्नुपर्ने पहिलो रोकथाम र बचावट, सर्प, कुकर, विच्छीजस्ता विषालु जीव वा किराले टोकेपछि गरिने रोकथाम, वेहोस भएका व्यक्तिलाई थप समस्याबाट बचाउने उपाय, विषाक्तताबाट बचाउने सिप, पानीमा डुवेको, करेन्ट लागेको अवस्थाबाट बचाउने, घाइते वा विरामीलाई ओसार्ने विधिको सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *