नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रदान गर्ने पुरस्कारका लागि दरखास्त आह्वान

304
Shares

काठमाडौँ, ७ चैत । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले विभिन्न विधाका पुरस्कारका लागि दरखास्त आह्वान गरेको छ।

परिषद्को स्थापना दिवसको अवसरमा  २७ देखि २९ चैतमा आयोजना  हुने ‘१२ औँ नेशनल समिट अफ हेल्थ एण्ड पपुलेसन साइन्टिस्ट्स इन नेपाल’ मा प्रदान गरिने पुरस्कारका लागि दरखास्त आह्वान गरेको गरिएको हो।

पुरस्कार अन्तर्गत परिषद्ले यसपटक हेल्थ रिसर्च अवार्ड, यङ हेल्थ रिसर्चर अवार्ड, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट यङ हेल्थ रिसर्च अवार्ड (मेडिकल डाक्टर क्याटेगोरी) र हेल्थ जर्नालिस्ट अवार्ड प्रदान गर्ने जनाएको छ।

शुक्रबार (हिजो) सूचना प्रकाशित गरेको परिषद्ले योग्यता पुगेका इच्छुक व्यक्तिलाई पुरस्कारका लागि एक साता भित्र दरखास्त दिई सक्नु पर्ने भनेको छ ।

पुरस्कारका लागि मापदण्ड के ?

परिषद्का अनुसार  हेल्थ रिसर्च अवार्डका लागि आवेदक नेपाली नागरिक हुनुपर्ने, अनुसन्धान नेपालमै सम्पन्न भएको हुनुपर्ने तथा स्वास्थ्यसँग सम्बन्धित विषयमा आधारित हुनुपर्नेछ।

साथै पबमेडमा सूचीकृत बायो–मेडिकल जर्नलहरूमा सन् २०२१ जनवरीदेखि २०२५ डिसेम्बरसम्म प्रकाशित वैज्ञानिक लेखहरू समावेश गर्नुपर्नेछ। समावेश लेखहरूमा आवेदक फर्स्ट, लास्ट वा करेस्पोन्डिङ लेखक हुनुपर्नेछ।

त्यस्तै यङ हेल्थ रिसर्चर अवार्डका लागि ४० वर्ष मुनिका नेपाली नागरिक हुनुपर्ने, अनुसन्धान नेपालमै सम्पन्न भएको हुनुपर्ने र पबमेड सूचीकृत जर्नलमा प्रकाशित लेखहरू समावेश गर्नुपर्नेछ। यहाँ पनि लेखहरूमा आवेदक फर्स्ट, लास्ट वा करेस्पोन्डिङ लेखक हुनुपर्ने उल्लेख छ।

मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट यङ हेल्थ रिसर्च अवार्ड (मेडिकल डाक्टर क्याटेगोरी) अन्तर्गत ४० वर्ष मुनिका नेपाली चिकित्सकले आवेदन दिन सक्नेछन्। उनीहरूको अनुसन्धान पनि नेपालमै सम्पन्न भएको हुनुपर्नेछ।

यस्तै, हेल्थ जर्नालिस्ट अवार्डका लागि आवेदक नेपाली पत्रकार हुनुपर्ने, स्वास्थ्य अनुसन्धानसँग सम्बन्धित लेख, रचना तथा वैज्ञानिक सामग्री प्रकाशन वा प्रसारण गरेको हुनुपर्नेछ। आवेदक विगत पाँच वर्षदेखि यस क्षेत्रमा निरन्तर सक्रिय हुनुपर्ने तथा सन् २०२१ जनवरीदेखि २०२५ डिसेम्बरसम्म प्रकाशित वा प्रसारित सामग्रीहरू समावेश गर्नुपर्नेछ।

आवेदनका लागि आवश्यक कागजातहरूमा नेपाली नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण (सिभी), प्रकाशित पूर्ण लेखहरू (पबमेड आइडी वा लिंक सहित) तथा आवेदक कुनै कानुनी रूपमा अयोग्य नभएको स्व–घोषणा पत्र समावेश गर्नुपर्नेछ।

परिषद्ले सबै अवार्डका लागि छुट्टाछुट्टै मूल्याङ्कन प्रक्रिया अपनाइने र अपूर्ण वा मापदण्ड नपुगेका आवेदनहरू समावेश नगरिने जनाएको छ। इच्छुक आवेदकहरूले तोकिएका कागजातहरू इमेलमार्फत पठाउनुपर्नेछ। आवेदन पठाउनका लागि इमेल ठेगाना [email protected] प्रयोग गर्न सकिनेछ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *