महाराजगञ्ज क्याम्पसका सरसफाईकर्मीलाई ‘व्यावसायिक जोखिम तथा सुरक्षा उपाय’ सम्बन्धी तालीम

काठमाडौँ, १६ फागुन । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) सामुदायिक चिकित्सा तथा जनस्वास्थ्य विभागद्धारा महाराजगञ्ज मेडिकल क्याम्पसमा कार्यरत सरसफाइ कर्मचारीहरूका लागि आयोजित ‘व्यावसायिक जोखिम तथा सुरक्षा उपाय’ सम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
सरसफाइ कर्मचारीहरूलाई कार्यस्थलमा हुन सक्ने विभिन्न व्यावसायिक जोखिमहरूबारे सचेत गराउन तथा ती जोखिमबाट सुरक्षित रहने उपायबारे व्यावहारिक ज्ञान प्रदान गर्नका लागि कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा महाराजगञ्ज क्याम्पसका सहायक क्याम्पस प्रमुख प्राडा खेमबहादुर कार्कीले कार्यशालाको उद्देश्य, आवश्यकता तथा लक्ष्यबारे प्रकाश पार्दै यस्ता तालिमले कर्मचारीहरूको सुरक्षा, स्वास्थ्य तथा कार्यकुशलता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे । यस्तै कार्यक्रममा प्रेम बस्नेतले सरसफाइ कर्मचारीहरूले दैनिक रूपमा सामना गर्ने व्यावसायिक जोखिमहरू र तिनको न्यूनीकरणका उपायहरूबारे विस्तृत जानकारी दिएका थिए ।

सैद्धान्तिक सत्र पश्चात् सहभागीहरूलाई व्यावहारिक सीप अभिवृद्धिका लागि विभिन्न अभ्यास सत्रहरू सञ्चालन गरिएको थियो। अभ्यास सत्रहरूमा व्यक्तिगत सुरक्षा उपकरणको सही प्रयोगबारे डा. गम्भीर श्रेष्ठ, सही तरिकाले हात धुने विधिका विषयमा डा. स्मृति पन्त, कीटाणुनाशक औषधीको सुरक्षित प्रयोगका सम्वन्धमा डा. नम्रता कार्की र फोहर व्यवस्थापनका प्रभावकारी उपायका बारेमा डा. तनवीर मिक्रानीले प्रशिक्षण दिएका थिए ।

कार्यशालामा क्याम्पसका २५ जना सरसफाइ कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम पछि सहभागीहरूले तालिम अत्यन्तै उपयोगी र समयसापेक्ष रहेको प्रतिक्रिया दिएका छन्। साथै, यस्ता तालिमहरू नयाँ नियुक्ति हुने कर्मचारीहरूका लागि अनिवार्य रूपमा र समय–समयमा पुनर्ताजगी तालिमका रूपमा पनि सञ्चालन गर्नुपर्ने सुझाव व्यक्त गरेका छन्।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ