ग्राण्डीको अध्यक्षमा ईन्जिनीयर दीपक कुँवर चौँथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ, १५ फागुन । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सञ्चालक समितिको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर चौँथो कार्यकालका लागि निर्वाचित भएका छन् ।
बिहीबार सम्पन्न ग्राण्डीको १४ औँ वार्षिक साधारणसभाबाट इन्जिनीयर कुँवर चार वर्षका लागि निर्वाचित भएका हुन् । उनी स्थापनाकालदेखि नै ग्राण्डीको अध्यक्ष रहेका छन् ।
चौँथो कार्यकालका लागि निर्वाचित भएपश्चात अध्यक्ष कुँवरले अस्पताललाई विश्वस्तरिय उपचारको गन्तव्यका रुपमा स्थापित गर्ने, अस्पतालको आर्थिक भार कम गरी शेयर सदस्यको लगानी र मुनाफा सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले स्थापनाकालदेखि विभिन्न अवरोधका बाबजुद ग्राण्डीले यसै आर्थिक वर्षभित्र संस्थागत ऋणमुक्त हुने र शेयर सदस्यलाई मुनाफा वितरण गर्ने बाटोमा अगाडि बढेको बताए ।
साधारणसभाबाट अस्पताल सञ्चालक समितिको सदस्यमा इन्जिनीयर विजय राजभण्डारी, डा सुनिलराम बैद्य, सुरुची ज्योति, फुर्पा दोर्जे लामा र निता शाही निर्वाचित भएका छन् ।
नेपालमै अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विस २०६९ मा टोखा नगरपालिका वडा न ८ धापासीमा स्थापना भएको ग्राण्डीले २०० शैयामार्फत बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
२८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालमा झण्डै एक हजार डाक्टर, नर्स तथा कर्मचारी कार्यरत छन् ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ