मुगुमा भाइरल ज्वरोको प्रकोप, ४०० बढी बिरामी

32
Shares

मुगु, १४ फागुन । मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका-९, नर्खजी गाउँमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोले गाउँका चारसय भन्दा बढी स्थानीय विरामी परेका छन् ।

ज्वरोका कारण सबैभन्दा बढी बालबालिका, महिलादेखि वृद्धवृद्धा प्रभावित छन् । स्थानीय खेम रोकायाका अनुसार फागुन ७ गतेदेखि सुरु भएको ज्वरो नर्खजी गाउँका चार बस्तीमा तीव्र रूपमा फैलिएको हो ।

नर्खजिमा रहेको स्वास्थ्य संस्थामा जनशक्ति र औषधी दुवै अभावमा देखिएको छ ।

उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र रातापानीबाट डाक्टरसहितको टोली गाउँ पुगेपनि रोग नियन्त्रणमा आउन सकेको छैन । उपचारमा खटिएको टोली १२ गते गाँउबाट फर्किसकेको छ भने अहिले एक जना स्वास्थ्यकर्मीले मात्रै बिरामीको उपचारमा सक्रिय छन् ।

नर्खजी स्वास्थ्य चौकीका इन्चार्ज अमर बिकका अनुसार दैनिक २० जना भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। ‘गाउँपालिकालाई जानकारी गराइसकेका छौं ।

औषधि पठाइए पनि बिरामीको चापका कारण सकिएको छ । स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्र बाँकी रहेको र आफूसहित एक जना मात्रै स्वास्थ्यकर्मी हुँदा बिरामी दर्तादेखि परीक्षणसम्म सबै काम गर्नुपरेकाले समयमै सेवा दिन कठिनाइ भएको छ,’ उनले भने ।

प्राथमिक स्वास्थ्य केन्द्र रातापानीका डाक्टर विकास धितालले गाउँ पुगेर करिब ३ सय बिरामीको परीक्षण गरेको जानकारी गराएका छन । ज्वरोका कारण बालबालिका देखि वृद्धवृद्धासम्म प्रभावित भएका छन् । औषधि अभाव देखिन्छ । ५० जनालाई खोप लगाइएको उनले जानकारी दिए ।

आफू पनि ज्वरोबाट प्रभावित भएपछि दुई दिन अघि टोली फर्किनुपरेको बताउँदै उनले समयमै औषधि र जनशक्ति व्यवस्थापन नभए अवस्था जटिल बन्न सक्ने बताए । विशेषगरी दीर्घरोगी बिरामीका लागि जोखिम बढ्न सक्ने उनको भनाइ छ उपचारका लागि गएका स्वास्थ्यकर्मीका अनुसार ज्वरो नर्खजी गाउँमै सीमित नरही छिमेकी बस्तीमा समेत फैलिने जोखिम रहेको छ ।

उता गाउँमा ज्वरोको प्रकोप बढिरहँदा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरू भोट माग्न शिक्षा र स्वास्थ्यका नारा लिएर गाउँमा पुगिरहेका भए पनि अहिले गाँउमा औषधि र जनशक्ति अभाव समाधानका लागि ठोस पहल नभएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिअहेव बिर्ख रावलका अनुसार पहिलो चरणमा उपलब्ध औषधि पठाइसकिएको छ ।

बिरामी संख्या बढेकाले औषधि अभाव भएको हो ।दोस्रो चरणका लागि खरिद गरिएको औषधि नेपालगञ्जबाट गाउँपालिकाको एम्बुलेन्स मार्फत ल्याउने तयारी भइरहेको समेत बताएका छन ।जिल्ला अस्पताललाई पनि आवश्यक औषधि र जनशक्ति व्यवस्थापनका मौखिक रुपमा आग्रह गरिएको भएपनी सकारात्मक जवाफ नआएको सिअहेव रावलले बताए ।

यसबारे जिल्ला अस्पताल मुगुका प्रमुख डा।निर्मल नगरकोटीले गाउँपालिकाबाट औपचारिक माग आएपछि उपलब्ध औषधि पठाउन सकिने बताएका छन् । साथै भाइरल ज्वरो फैलिएको क्षेत्र नजिकै रातापानी प्राथमिक स्वास्थ्य केन्द्र रहेकाले त्यहाँबाटै टोली परिचालन गरिएको उनले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *