शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि पहल, पदाधिकारीले गरे मुख्यमन्त्रीसंग छलफल

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई छिटो सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । विश्वविद्यालय सञ्चालनमा आएपछि प्रदेशवासीले स्तरीय र सहज स्वास्थ्य सेवा पाउने उनको विश्वास छ।

बुधबार मुख्यमन्त्री शाह र विश्वविद्यालयका पदाधिकारीबीच भएको छलफलमा उनले सुदूरपश्चिमका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न विश्वविद्यालयको भूमिका महत्त्वपूर्ण हुने बताए। “विश्वविद्यालय सञ्चालनमा आएपछि स्वास्थ्य सेवा मात्र होइन, स्वास्थ्य शिक्षाको स्तर पनि उकासिनेछ,” उनले उल्लेख गरे।

उनले विश्वविद्यालय प्रदेशको स्वास्थ्य र शिक्षासँग प्रत्यक्ष रूपमा जोडिएको संस्था भएकाले यसको प्रभावकारी सञ्चालनका लागि प्रदेश सरकार आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे।

छलफलका क्रममा विश्वविद्यालयको भौतिक पूर्वाधार विकास, आवश्यक जनशक्ति व्यवस्थापन, शैक्षिक कार्यक्रम विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा विस्तृत कुराकानी भएको थियो।

बैठकमा उपकुलपति प्राडा सुनिलकुमार जोशी, रजिस्ट्रार प्राडा खेमराज जोशी तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याललगायत पदाधिकारीहरूको सहभागिता रहेको थियो।

प्रदेश सरकारले विश्वविद्यालय सञ्चालन प्रक्रिया तीव्र बनाउँदै आवश्यक समन्वय र सहकार्य अघि बढाउने जनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *