क्यान्सरका बिरामीहरुलाई रेडियोथेरापी उपचार गर्ने विषयमा एनएमसी र केसीसीबीच समझदारी

20
Shares

काठमाडौं, २ फागुन । क्यान्सर रोगको उपचारका लागि नेपाल मेडिकल कलेज (एनएमसी) र काठमाडौं क्यान्सर सेन्टर (केसीसी) बीच समझदारी भएको छ । शनिबार एनएमसी र केसीसीबीच क्यान्सरका बिरामीहरुलाई सहज रुपमा रेडियोथेरापी उपचार गर्ने विषयमा समझदारी भएको हो ।

समझदारी पत्रमा एनएमसीका तर्फबाट प्रबन्ध निर्देशक डा. सबिहा यासमिन तथा केसीसीको तर्फबाट अध्यक्ष डा. सिमित सापकोटाले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरपछि बोल्दै एनएमसीका प्रबन्ध निर्देशक डा यासमिनले एनएमसीले क्यान्सरका बिरामीहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्ने हेतुले भक्तपुरको ताथलीमा रहेको केसीसीसंग सहकार्य रहेको बताईन ।

उता केसीसीका अध्यक्ष डा. सापकोटाले नेपाल मेडिकल कलेजबाट सिफारिस भई आएका बिरामीहरुलाई सहजरुपमा गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।

यता एनएमसीमा क्यान्सर रोगको उपचारका लागि हाल क्यान्सर रोग विशेषज्ञ डाक्टर रिता महासेट नेतृत्वको अंकोलोजी युनिट रहेको छ । अहिले कलेजमा रेडियोथेरापी सेवा वाहेक क्यान्सर उपचारका सबै सेवाहरु उपलब्ध रहेको अंकोलोजी युनिटकी प्रमुख डा. महासेठले बताईन ।

समझदारी अनुसार नेपाल मेडिकल कलेजले रेडियोथेरापीका लागि बिरामीहरूलाई काठमाडौं क्यान्सर सेन्टरमा पठाउनेछ । पठाइएका बिरामीहरुलाई क्यान्सर सेन्टरले रेडियोथेरापीमा ५ प्रतिशत छुट दिनुको साथै आउट सोर्स सेवा वाहेक अन्य सेवाहरुमा १० प्रतिशत छुट समेत पाउनेछन् ।

क्यान्सर सेन्टरले गोकर्णेश्वर नगरपालिकाभित्र वा आसपास बसोबास गर्ने बिरामीहरूलाई आवश्यक सेवाकालागि नेपाल मेडिकल कलेजमा सिफारिस गर्ने, मेडिकल कलेजका डाक्टर, नर्स तथा प्यारामेडिक्सलाई आफ्ना सेवाबारे अभिमुखीकरण प्रदान गर्ने लगायत समझदारी कायम गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *