काठमाडौँमा २७ माघ देखि एचपीभी खोप सञ्चालन गरिने

28
Shares

काठमाडौँ, २२ माघ । भविष्यमा हुनसक्ने पाठेघरको मुखको क्यान्सर रोगबाट जोगाउन सरकारले गतवर्ष देखि सुरु गरेको ह्युमन प्यामिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाउने कार्यक्रम यसबर्ष काठमाडौँमा २७ माघ देखि सुरु हुँदैछ ।

जनस्वास्थ्य कार्यालय काठमाडौँका अनुसार यसवर्ष सो खोप कक्षा ६ मा अध्ययनरत वा विद्यालय नजाने भए १० वर्ष उमेर समूहका गरी २३ हजार ७४६ जना किशोरीहरुलाई दिईदै छ ।

जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बसन्त अधिकारीेले खोप कार्यक्रम २७ माघ देखि ५ फागुनसम्म सम्पन्न गर्ने योजना रहेको बताए । त्यसका लागि जिल्लाले १ हजार १७६ वटा विद्यालयमा खोप केन्द्र तोकेको छ । विद्यालय नजाने किशोरीका लागि वडामा रहेका शहरी स्वास्थ्य केन्द्रहरुमार्फत खोप उपलव्ध गराउने जनाएको छ ।

उनले खोप कार्यक्रमका लागि तोकिएको अवधी भित्र सम्पन्न गर्नै पर्ने बताउँदै स्थानीय पालिकाहरुले आफ्नो अनुकुलमा सुरुवात गर्ने दिन केही तलमाथि गर्न भने सक्ने बताए ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दीपक केसीले यसपटक महानगरभित्र खोप पाउने उमेर समूहका किशोरीहरुको संख्या ९ हजार ११३ जना रहेको जानकारी दिदै तोकिएको समयमा खोप कार्यक्रम सम्पन्न गर्ने जानकारी दिए ।

काठमाडौँ गतवर्ष एचपीभी खोप अभियान सुरु गर्दा केही विद्यालयहरुले खोप प्रति शंका व्यक्त गर्दै लगाउन अस्विकार गरेका थिए । यद्धपी पछि उनीहरुले बुझेर खोप लगाएका थिए । जनस्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले यसपटक त्यस्तो समस्या नहुने आशा व्यक्त गरे ।

उनले भने,  ‘खोप सुरक्षित र प्रभावकारी छ । खोपले अन्य असर पार्छ भनेर गतवर्ष हल्ला फैलियो, त्यसले सुरुवातमा केही असर समेत परयो तर त्यो हल्ला दूर भईसकेको छ । यो विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त अति नै सुरक्षित खोप हो । किशोरीहरुलाई ढुक्कले दिनु पर्छ ।’

अधिकारीले कतिपय विद्यालयहरुले खोपका लागि परिवारसंग स्वीकृति लिने चलन रहेको भन्दै स्वीकृति लिई राख्नु नपर्ने बताए ।

‘परिवारसंग स्विकृति लिनु भनेको केही भई हाल्यो भने जिम्मेवारी परिवारले लेउ भनेको जस्तो हो । तर बास्तवमा जिम्मेवारी परिवारले लिने पनि होईन, केही भएमा यसको जिम्मेवारी त राज्यले लिने हो । तर फेरी पनि भन्छु यो खोप सुरक्षित छ । खोप पाउनु किशोरीहरुको अधिकारको कुरा पनि हो । त्यसैले ढुक्कले लिनु होला’ उनले भने ।

बुधबार भएको कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा सागर शाक्य लगायतले खोप बारेमा बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *