भक्तपुर क्यान्सर अस्पतालले गर्यो बृहत जनचेतनामुलक प्रभातफेरी सहित विविध कार्यक्रम

काठमाडौं, २१ माघ । विश्व क्यान्सर दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालले बुधबार जनचेतनामुलक प्रभात फेरीसहितको विविध कार्यक्रमहरूको आयोजना गरि मनाएको छ ।
अस्पतालले यस अवसरमा निःशुल्क क्यान्सर परीक्षणका साथै ललितपुरको पुल्चोकदेखि मंगलबजारसम्म जनचेतना प्रभातफेरीको आयोजना गरेको थियो ।
हरेक वर्ष फेब्रुअरी ४ तारिखमा मनाइने विश्व क्यान्सर दिवस यस वर्ष “युनाइटेड बाइ युनिक” अर्थात् पृथक रुपमा एकता भन्ने थिम रहेको छ । युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोलले यहि थिम अघिल्लो वर्ष राखेको थियो भने आगामी वर्ष पनि थिममा मनाउने तय गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी पुगेका थिए । उनले क्यान्सर उपचार क्षेत्रमा हालको लगानी पर्याप्त नभएको उल्लेख गर्दै क्यान्सर कोषलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले विभिन्न अस्पतालहरूको सहकार्यमा क्यान्सर उपचार सेवा देशभर विस्तार गर्ने प्रयास भइरहेको जानकारी दिए।
कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक एवं क्यान्सर रोग विशेषज्ञ डा. उज्जवल चालिसेले क्यान्सरलाई समाजको गम्भीर स्वास्थ्य समस्याका रूपमा उल्लेख गर्दै समयमै परीक्षण र उपचारको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. ९ का अध्यक्ष तथा प्रवक्ता राजु महर्जनले भक्तपुरबाट जनचेतना फैलाउँदै ललितपुरसम्म प्रभातफेरीको आयोजना गरिएकोमा धन्यवाद व्यक्त गरे। उनले महानगरपालिकाले हालसम्म ७,९१५ जनाको क्यान्सर परीक्षण गरेको र तीमध्ये ५८४ जनामा क्यान्सर पोजेटिभ देखिएको जानकारी दिए। निःशुल्क परीक्षणमा पहिचान भएका बिरामीहरूको उपचार भक्तपुर क्यान्सर अस्पतालमा गरिएको पनि उनले बताए।
कार्यक्रममा क्यान्सर सर्जन तथा गाइने अन्कोलोजिस्टहरूले क्यान्सरका कारण, उपचार विधि तथा रोकथामका उपायहरूबारे जानकारी दिएका थिए। उक्त अवसरमा सहभागीहरूका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा पनि प्रदान गरिएको थियो।
मंगलबजार पुगेपछि सहभागीहरुलाई शारीरिक व्यायम समेत गराईएको थियो ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 