क्यान्सरबिरुद्धको अभियानमा पृथक क्षेत्रका अगुवाबीच पाटन अस्पतालमा देखिएको एकता

काठमाडौँ, २१ माघ । पाटन अस्पतालको अडिटोरियम हलमा बुधबार विहान १० बजे देखि नै जम्मा भएका क्यान्सर बिजेताहरुमा अलि बेग्लै रौनक देखिन्थ्यो ।
आफ्ना दुख-पिडा, कथा-व्यथा बाढ्न र सुन्न आतुर उनीहरु महानायक राजेश हमालको व्यग्र प्रतिक्षामा देखिन्थे ।
सामाजिक सञ्जालका नायक तथा बिरामीका दुख अफ्ट्याराका भरपर्दा साथीको रुपमा छवि बनाएका पूर्व सचिव भीम उपाध्याय आउँदै थिए । अनि आउँदै थिए क्यान्सर योद्धा समेत रहेका सर्बोच्च अदालतका पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली ।
संगसंगै थिए बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्रप्रसाद बराल, युवा क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही ।

त्यसो त विश्व क्यान्सर दिवसको थिम अघिल्लो वर्ष देखि आगामी वर्षसम्मका लागि एउटै छ । ‘युनाइटेड बाई युनिक’ अर्थात पृथक रुपमा एकता । संसारका जुनसुकै देशमा जुन सुकै रुपमा यो दिवस मनाए पनि यसको मुल उद्धेश्य क्यान्सरबारे सचेत हुने, जनचेतना जागृत गराउने र क्यान्सरको जोखिम तथा संक्रमणलाई घटाउने हो ।
जव अतिथिहरुको आगमन भयो, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिप्रसाद पौडेलले अध्यक्षता गर्दै दिवसको मुल कार्यक्रम अघि बढाउन आग्रह गरे ।
त्यसपछि क्यान्सरको अहिलेको अवस्था, गरिएका प्रयास र बिरामी तथा स्वस्थ नागरिकले ध्यान दिनु पर्ने कुराहरुको बारेमा प्रस्तुति दिईयो । तथ्यांकीय प्रस्तुतिलाई अझ स्पष्ट पार्न विद्यार्थीहरुले नाटक प्रस्तुत गरे ।
पाटन अस्पताललाई क्यान्सर रोगको उपचारमा तीब्र गतिमा बिस्तार गर्दै अघि बढाएका युवा मेडिकल अंकोलोजिष्ट डा अरुण शाहीले उपचार अनुभव, क्यान्सर रोगको अवस्था र नियन्त्रणका लागि गर्नु पर्ने काम बारे बताएका थिए ।
नेपालकै पुराना मध्येका एक क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बरालले त्यसलाई थप्दै भने, ‘हामी अब भाग्यमानी छौँ । पहिले क्यान्सर ह्याज नो एन्सर भन्ने चलन थियो तर अब ढुक्कले भन्न सकिन्छ क्यान्सर ह्याज मल्टिपल एन्सर । अर्थात क्यान्सर लाग्दैमा जीवन सकिदैन । बाच्नका लागि धेरै उपायहरु छन् ।’
उनले क्यान्सर सचेतना र स्क्रिनिङमा जोड दिए । उनले एक दिन मात्रै दिवस मनाउने नभई बर्ष दिनसम्म नै यसबारेमा सचेत हुनुपर्ने बताए ।
कार्यक्रममा क्यान्सर बिजेताहरुको संस्था नेपाल क्यान्सर सर्भाइभर सोसाइटीका उपाध्यक्ष पुजा कुवरले आफ्नो भोगाईसंगै संस्थाले गरेका कामबारेमा जानकारी गराईन ।
सामाजिक सञ्जालका मात्रै नभई सामाजिक सेवा क्षेत्रमा निरन्तर क्रियाशिल पूर्व सचिव भीम उपाध्यायले सामाजिक सञ्जालको प्रयोगबाट संकलन गरी बिरामीको उपचारमा दिएको सहयोगबारे अनुभव बताए । उनले चिकित्सकहरुले बिरामीप्रति गर्ने मायालु व्यवहारले आधा रोग निको हुने भन्दै आफ्ना आनीबानी बिरामीमैत्री बनाउन समेत आग्रह गरे ।
पालो आयो महानायक राजेश हमालको ।
जीवन दर्शनको कुराबाट सुरु गरेका उनले क्यान्सर रोगको अवस्था र उपचारबारे धेरै नयाँ कुराहरु थाहा पाएको बताए । उनले खानपान र जीवनशैलीलाई स्वस्थ राख्न आग्रह गरे । धेरैले के खाएर स्वस्थ भएको हो भनेर सोध्ने गरेको प्रशंग निकाल्दै उनले भने, ‘म भन्छु के खाएर होईन अब के नखाएर स्वस्थ भईन्छ भनेर प्रश्न गरौँ ।’
उनले हरेक व्यक्तिले क्यान्सर वा नसर्ने रोगबारेमा चासो राख्नु पर्ने भन्दै स्वस्थ रहने तरिकामा ध्यान दिनु पर्ने बताए । उनले शारीरिक व्यायम देखि खानपानका कुरालाई मुख्य ध्यान दिन जोड गरे ।

कार्यक्रमको अन्तिम तिर पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्ना कथा व्यथा सुनाए । पछिल्लो समय क्यान्सर बिजेताको रुपमा आफूलाई चिनाउने गरेको छु भन्दै उनले रोग लाग्न नदिनका लागि सचेतना अभियानलाई अघि बढाउनु पर्नेमा जोड दिए । उनले क्यान्सर उपचारका लागि नेपालमा धेरै सुविधाहरु थपिदै गएको भन्दै रोग लाग्नबाट जोगाउन पनि सरकारको ध्यान जानु पर्ने बताए ।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्राडा पौडेलले पाटन अस्पतालले क्यान्सर उपचारका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै यसलाई थप विस्तार गर्दै लैजाने बताए ।
कार्यक्रमको साझेदार कतिपय क्यान्सरका बिरामीहरुलाई निशुल्क औषधी उपलव्ध गराउँदै आएको द म्याक्स फाउण्डेसन थियो ।

सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 