चिकित्सक संघको निर्वाचन : प्रतिनिधि सभाको निर्वाचन अघि कि पछि ?

उम्मेदवार पनि अलपत्र !
156
Shares

काठमाडौँ, ७ माघ । गत सोमबार निर्वाचन समितिले उम्मेदवारको नयाँ नामावली सार्वजनिक गरे पनि नेपाल चिकित्सक संघको निर्वाचनको मिति टुंगो लागेको छैन ।

गत शनिबार भएको चिकित्सक र तिनका उम्मेद्वारसहितको सर्वपक्षीय बैठक नयाँ निर्वाचन उपत्यका बाहिर १५ र १६ माघ र काठमाडौँ उपत्यकामा २९ माघ देखि तीन दिनसम्म गर्ने भन्नेमा सहमति नजिक पुगेको थियो ।

तर, सोही दिन देखि लागू भएको निर्वाचन आचार संहिताले फेरी अलमलमा पुर्‍याएको छ ।

निर्वाचन समिति संयोजक डा. प्रणयरन्त शाक्य निर्वाचनको मिति घोषणा गर्नु अघि निर्वाचन आयोगको राय लिनु पर्ने अवस्था आइपरेको भन्दै उसले दिने रायका आधारमा निर्वाचन प्रक्रिया अघि बढ्ने बताए । समितिले मंगलबार (हिजो) नै त्यसका लागि निर्वाचन आयोगमा पत्राचार गरेको समेत उनले जानकारी दिए ।

‘बीचमा अदालती केशका कारण हामी ढिला भयौँ । पुरानो मितिमा निर्वाचन गर्न सकेनौँ । अब निर्वाचनका लागि नयाँ मिति तोक्नु पर्ने छ । तर यसबीचमा प्रतिनिधिसभाको निर्वाचन र त्यसमा आचारसंहिता लागेको अवस्था छ । अब निर्वाचन आयोगले दिने रायका आधारमा मात्रै हामीले नयाँ मिति तोक्न सक्छौँ अहिल्यै भन्नु हतारो हुन्छ,’ उनले भने ।

त्यसो त निर्वाचन आयोग मात्रै होईन उच्च अदालत पाटनबाट पनि नयाँ निर्वाचनका लागि बाटो खुला भईसकेको अवस्था छैन । हिजोका लागि तोकिएको पेशी स्थगित भएको छ ।

निर्वाचन समितिले २ पुसमा मनोनयन फारम भर्ने र शुल्क बुझाउने सबैको उम्मेदवारी कायम गरेपछि अब अदालती झन्झट हुँदैन भन्ने आशा थियो । तर पेशी नै स्थगित भएपछि त्यो काम बाँकी नै रहेको छ ।

निर्वाचन समिति संयोजक डा शाक्य भने अदालतले भने बमोजिम सबैको उम्मेदवारी कायम गरिसकेको अवस्थामा अब समस्या नहुने ठोकुवा गर्छन । ‘अदालतले भने झै हामीले सबैको उम्मेदवारी कायम गरिदियौँ नि अब त समस्या नहोला नि होईन र ?’ प्रतिप्रश्न गर्दै उनी भन्छन् ।

उम्मेदवार पनि अलपत्र

टीम बद्रीको नेतृत्व गरेका उम्मेदवार डा बद्री रिजालले निर्वाचन कार्यक्रम कहिले हुने भन्नेमा अझै ढुक्कले भन्न सक्ने अवस्था नभएको बताए । बीचमा राष्ट्रिय निर्वाचनले सबैको ध्यान खिचेको छ । निर्वाचन आचार संहिताले के गर्ने हो ? अब फेरी निर्वाचन आयोगमा गएर सल्लाह गर्नु पर्ने छ । हामीले प्रतिनिधिसभा निर्वाचन अघि नै यो काम सक्न पाए हुन्थ्यो भन्ने हो ।

टीम मंगलको नेतृत्व गरेका डा मंगल रावलले पनि चिकित्सक संघको निर्वाचन प्रतिनिधि सभा निर्वाचन अघि नै सक्नु पर्नेमा आफूहरु रहेको बताउँछन् । तर आयोगको हातमा निर्वाचन सम्वन्धी गाँठो अडकिएकोले यसै भन्न सक्ने अवस्थामा नभएको प्रतिक्रिया दिए । उनले भने, ‘एक पटक हामीहरु नै पनि गएर निर्वाचन आयोगसंग छलफल गर्ने र चुनावलाई अगाडी गर्ने बातावरण गराउन जाने योजनामा छौँ ।’

चिकित्सक संघको निर्वाचन समितिले सुरुमा मनोनयन गरेका कतिपय चिकित्सकको उम्मेदवारी खारेजी गरेपछि यो लफडामा परेको हो । समितिले जिल्ला प्रशासन कार्यालय तथा उच्च अदालतको आदेशलाई समेत अटेरी गर्दा निर्वाचन प्रक्रिया ढिलाई भएको सरोकारवाला चिकित्सकहरु बताउँछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *