डीन प्राडा अग्रवालको राजिनामा माग्दै संघर्ष समितिले दियो परीक्षा बहिस्कारको चेतावनी
काठमाडौ, १ पुस – त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का डीन प्राडा जगदीश अग्रवालले तत्काल राजिनामा दिनुपर्ने माग गर्दै आइओएम बचाउ सघर्ष समितिले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
त्रिवि प्राध्यापक संघ महाराजगञ्ज क्याम्पस इकाईको नेतृत्वमा गठित समितिले राजिनामा नदिएसम्म हाल सञ्चालित परीक्षाका कार्यक्रममा बाहेक अव हुने परीक्षामा सहभागी नहुने, पठन पाठन अवरुद्ध गर्ने क्रमलाई निरन्तरता दिने, डीन कार्यलयबाट हुने कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुने र विस्तारै अस्पतालको सेवा समेत प्रभावित गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
संयोजक डा. सुरेश उप्रेतीले प्राडा अग्रवालको नियुक्ती प्रक्रिया मिचेर गरिएको भन्दै आफूहरुको विरोध रहेको बताए । ‘हामी कोही व्यक्ति विशेषको विरोध गरेका छैनौँ तर प्रक्रिया अनुसार हुनुपर्छ भनेका मात्रै हौँ । त्यसैले प्रक्रिया मिचेर आएका डा अग्रवालले तत्काल राजिनामा दिएर निकास खोलिदिनुपर्छ । त्यो नहुँदासम्म हामी आन्दोलन जारी राख्छौँ ‘ डा. उप्रेतीले भने ।
शिक्षण अस्पताल कर्मचारी संघकी अध्यक्ष नर्मदा थापाले एउटा व्यक्तिको रोजाईमा परेरै नियम मिचेर आएको व्यक्तिलाई डीन स्वीकार्न नसकिने भन्दै आफूहरु विरोधमा उत्रिएको बताइन् । उनले डा गोविन्द केसीको अनसनले अस्पतालको आम्दानीमा असर गरेको भन्दै साउन यता बढेको तलव खान नपाएको बताइन् ।
प्राडा प्रेम ज्ञवालीले डीन अग्रवालले अहिले राजिनामा दिएर मापदण्ड पछि प्रतिस्पर्धा गरी पुन अग्रवाल आएमा स्वीकार गर्न सकिने बताए । अहिले ५७ जना फ्याकल्टीमा ५५ जना एकापट्टी र २ जना अग्रवाल पट्टी रहेको अवस्था बताउदै यसरी आइओएम चल्न नसक्ने बताए ।
प्राडा केपी सिंहलाई राजिनामा गर्न लगाई सरकारले प्राडा अग्रवाललाई डीन नियुक्त गरे लगत्तै आइओएममा बरिष्ठ प्राध्यापकहरुले आन्दोलन गरेका हुन् । उनीहरुले घोषित रुपमै पठन पाठनमा भाग नलिने निर्णय गरेका छन् भने डीन कार्यलय र प्राडा अग्रवालले पदवहाली गरेको मोहेगो भवनको कार्यकक्षमा समेत तालाबन्दी गरिदिएका छन् ।
सम्पर्क इमेल : [email protected]