नेपाल मेडिकल काउन्सिलको अबको निर्वाचनमा अनलाइन भोटिङ हुने
चिकित्सक लाइसेन्स परीक्षा सातै प्रदेशमा सञ्चालन गर्ने निर्णय

काठमाडौँ, २ माघ । नेपाल मेडिकल काउन्सिलले आफ्नो निर्वाचन प्रणालीलाई डिजिटलाइज गर्ने भएको छ । गत २३ र २४ पुसमा बसेको काउन्सिलको पूर्ण बैठकले उपाध्यक्ष सहितका आठ सदस्य छनौटका लागि हुने आगामी निर्वाचनमा अनलाइन भोटिङको व्यवस्था गर्ने निर्णय गरेको छ ।
गत पुसको दोस्रो साता सम्पन्न काउन्सिलको निर्वाचनमा विजयी अधिकांश उम्मेद्धारहरुले जारी गरेको आफ्ना घोषणा पत्रमा निर्वाचन प्रणाली डिजिटलाइज गर्ने र अनलाइन भोटिङको व्यवस्था गर्ने भन्ने थियो ।
नव निर्वाचित उपाध्यक्ष डा कुञ्जाङ शेर्पा र अन्य आठ सदस्यसमेत पहिलो पटक सहभागी भएको बैठकले यस्तो निर्णय गरेको हो ।
काउन्सिल स्रोतका अनुसार बैठकले चिकित्सक लाइसेन्स परीक्षा पनि सातै प्रदेशमा सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसमा प्रश्नमा एकरुपता गर्ने तथा कम्प्युटरमा आधारित परीक्षा प्रणाली लागु गर्ने विषयमा पनि निर्णय भएको छ ।
त्यसो त अहिले पनि परीक्षा प्रणाली कम्युटरमा आधारित नै छ । तर लाइसेन्स परीक्षाका लागि देशभरबाट राजधानी काठमाडौँ नै आउनु पर्ने बाध्यता छ । अहिले पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन् संस्थानको हलमा कम्प्युटर विधिबाट परीक्षा लिईने गरिन्छ ।
यस्तै बैठकले मेडिको लिगल युनिट गठन गर्ने। मुद्धा अनुसन्धान र व्यवस्थापनलाई थप सुदृढ बनाउने विषयमा पनि निर्णय गरेको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
