औषधी व्यवसायीसंगको सम्झौँता तत्काल कार्यान्वयन गर्न एनसीडीएको माग
महानिर्देशक भन्छन्, 'त्यो कार्यान्वयनमा आई नै हाल्छ तर तपाईँहरुको प्रतिवद्धता ?'

चितवन, १३ पुस । नेपाल औषधी व्यवसायी संघ (एनसीडीए)का अध्यक्ष प्रकाशकुमार खण्डेलवालले व्यवसायीको आन्दोलन पछि गत १५ मंसिरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको तीन बुँदे सम्झौँताको तत्काल कार्यान्वयन गर्न माग गरेका छन् ।
सरकारले गत १४ साउनमा केही नेपाल ऐन संसोधन गर्ने ऐन २०८२ मा संसोधन गर्दा औषधी ऐन २०३५ को दफा ११ मा भएका व्यवस्था पनि परिवर्तन भएर आएको थियो ।
त्यसले आफूहरुको व्यवसायमा ठूलो असर गर्ने भन्दै नेपाल औषधी व्यवसायी संघ, नेपाल औषधी आयातकर्ता संघ लगायतका विभिन्न संस्थाहरुले संयुक्त रुपमा आन्दोलन गरेका थिए । सोही आन्दोलन बढ्दै जाँजा स्वास्थ्य मन्त्री तथा स्वास्थ्य सचिवको अग्रसरतामा तीन बुँदे सहमति भएको थियो ।
चितवनको पर्यटकीय नगरी सौराहमा गत शुक्रबार र शनिबार भएको संघको ५२ औँ केन्द्रीय बार्षिक साधारण सभाको उद्घाटन सत्रमा प्रमुख अतिथि बनेर पुगेका विभागका महानिर्देशक नारायणप्रसाद ढकालल समक्ष एनसीडीएका अध्यक्ष खण्डेलवालले सोही कुरा सम्झाएका हुन् ।
उनले अघिल्लो महिनाको सम्झौँतमा अझ केही छुट्नै नहुने विषयहरु छुटेको भन्दै त्यसमा समेत विभागले सहजीकरण गरी सहयोग गर्न आग्रह गरेका थिए ।
औषधी व्यवसायी देशको अर्थतन्त्रका प्रमुख सारथी हुन भन्दै अध्यक्ष खण्डेलवालले व्यवसायीहरुले गरेको लगानीकै कारण आज राज्यको स्वास्थ्य सेवा राम्रो भएको बताए ।
अर्को प्रसंगमा उनले स्वास्थ्य बीमाको भुक्तानी लामो समय रोकिदा कतिपय व्यवसायीहरु विस्तापित हुने अवस्थामा पुगेको भन्दै सरोकारवाला समक्ष स्वास्थ्य बीमाको भुक्तानी तत्काल गर्न समेत माग गरे ।
उनले औषधीको अवैध कारोवार, म्याद नाघेका औषधी, औषधीको अनाधिकृत बिक्री जस्ता समस्या नियन्त्रणको लागि आफूहरु नियामक निकाय र प्रशासलाई सहयोग गर्न तयार रहेको समेत बताए । तर उनले चिकित्सकले खोजेका औषधीहरु सहज रुपमा दर्ता गर्न गरिदिई सहज उपलव्धताका लागि सहयोग गर्न समेत विभाग महानिर्देशकको ध्यानाकर्षण गराएका थिए ।
‘मैले कमिटमेन्ट पुरा गर्छु अब व्यवसायीले पनि गर्नु पर्यो’

साधारण सभाको उद्घाटन सत्रलाई सम्वोधन गर्न पुगेका विभागका महानिर्देशक ढकालले औषधी ऐनको दफा ११ लगायतका विषयमा व्यवसायीसंग भएको सम्झौँता अनुसार नै काम अघि बढीसकेको भन्दै आफू आफ्नो प्रतिबद्धता पुरा गरेरै छाड्ने बताए ।
उनले भने, ‘संसोधनको प्रस्ताव विभागबाट अघि बढि सकेको छ । सहजीकरण मैले गरि नै सकेको छु । त्यसमा मैले मेरो कमिटमेन्ट पुरा गर्छु तर अब तपाईँहरले पनि गर्नु पर्छ ।’
महानिर्देशक ढकालले गतवर्षको साधारणसभामा भनेको कुरा स्मरण गर्दै ‘यसपटक कम्तिमा १५ – २० वटा जीएमपी सर्टिफाइड कम्पन्नी होला भनेको तर एउटा पनि नभएको’ भन्दै चिन्ता व्यक्त गरे ।
उनले औषधीमा क्वालिटी, सेफ्टी र एफिकेसी अन्त्यन्त महत्वपूर्ण हुने भन्द्यै त्यसमा एनसीडीएको भूमिका अझ बढी हुने बताए ।
‘नेपालको सत प्रतिशत सप्लाई तपाईँहरुबाट नै हुन्छ । औषधीको मुख्य रुपमा ह्याण्डलिङ तपाईँ व्यवसायीहरुबाट नै हुन्छ,’ उनले भने ।
एक प्रसंगमा ढकाललले ‘औषधी पेशालाई सरस्वतीको पेशा, सेवाको पेशाको रुपमा लिनु पर्नेमा लक्ष्मीलाई मुख्य बनाएको’ भन्दै कटाक्ष समेत गरे । उनले नेपाली औषधीले का मगर्दै भन्ने धारणासंग पनि लड्नका लागि व्यवसायीहरुलाई आग्रह गरे ।
कार्यक्रममा बिहार केमिष्ट एण्ड ड्रग एसोसिएसनका महासचिव प्रभाकर कुमार, एनसीडीएका बरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेल, केन्द्रीय महासचिव श्रीधर खनाल, कोशी प्रदेश अध्यक्ष धर्मराज काफ्ले, मधेशप्रदेश अध्यक्ष शिवनाथ सिंह, गण्डी प्रदेश अध्यक्ष केसरीप्रसाद तिवारी, लुम्बिनी प्रदेश अध्यक्ष लुकराज न्यौपाने, कर्णाली प्रदेश अध्यक्ष प्रेमबहादुर भण्डारी, चितवनका जिल्ला अध्यक्ष विनोद तिमिल्सिना लगायतले बोलेका थिए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

