नर्भिकमा पाठेघरको सालसम्बन्धी जटिल अवस्था भएकी गर्भवतीको सफल प्रसूति

काठमाडौं, ९ पुस । नर्भिक इन्टरनेशनल अस्पतालमा पाठेघरको सालसम्बन्धी जटिल अवस्थाको सफल शल्यक्रिया मार्फत् प्रसूति गराइएको छ।
पाठेघरको मुख तथा भित्तामा साल टाँस्सिने जटिल अवस्था (सेन्ट्रल प्लासेन्टा प्रिभिया विथ प्लासेन्टा परस्रेटा) दुवै समस्या भएकी महिलाको सफल शल्यक्रिया मार्फत् प्रसूति गराइएको हो।
मातृ मृत्युदर उच्च रहने यस्तो केस दुर्लभ अवस्था हो।
अस्पतालकी प्रसूति तथा स्त्रीरोग विभाग प्रमुख प्राडा अचला वैद्य नेतृत्वको टिमले गत मंसिर १२ गते नेपालगन्जकी महिलाको सी–सेक्सनमार्फत् प्रसूति गराएको हो।
आमा र बच्चा दुवैको अवस्था सामान्य भएपछि बिरामी डिस्चार्ज भइसकेको अस्पतालले जनाएको छ।
शल्यक्रियामा प्राडा वैद्यसहित प्राडा अमृता गिरी, डा सुरेश कायस्थ र डा सविना अर्याल थिए भने एनेस्थेसियामा डा प्रज्वल श्रेष्ठ, डा सुरेश लामिछाने र डा विनोद तिमल्सिना संलग्न थिए।
सामान्य गर्भावस्थामा शिशु निस्किएपछि साल निस्कने गर्छ। तर, नेपालगन्जकी महिलामा भने पाठेघरको मुखमा साल टाँस्सिने ( सेन्ट्रल प्लासेन्टा प्रिभिया) र टाँस्सिएको साल पाठेघरको मांसपेसी छेडेर बाहिर निस्कने (प्लासेन्टा परसेर्टा) दुवै भएको जटिल अवस्था थियो। साल पिसाब थैलीमा समेत फैलिएको अवस्था थियो। यस्तो अवस्थामा नर्मल डेलिभरी गराउन सम्भव हुँदैन भने सी–सेक्सन गराउँदा पनि अत्याधिक रक्तस्राव हुने जोखिम रहन्थ्यो।
सी–सेक्सनमा पेटको तल्लो भागमा सर्जरी गर्दा साल नै पहिले निस्कियो भने अत्यधिक रगत बग्ने र शिशु तथा आमाको ज्यानै जोखिममा पर्ने सम्भावना थियो। यो अवस्था चिकित्सकका लागि पनि जटिल मानिन्छ। यस्तो अवस्थामा बिरामीलाई लामो परामर्श दिइएको डा. वैद्यले बताइन्। ‘यस्तो खालको जटिल केस मेरो जीवनमै पहिलो पटक र सम्भवत: नर्भिकमै पनि पहिलो हो,’ डा. वैद्यले भनिन्।
गर्भावस्थाको २० औं हप्तामा अल्ट्रासाउण्ड गर्ने क्रममा पाठेघरको मुखमा साल टाँसिएको पत्ता लागेपछि बिरामी रेफर भएर नर्भिक आइपुगेकी थिइन्। ‘यो समस्या थाहा भएपछि र फोहोर पानी बग्नेबित्तिकै अवस्था जटिल छ भनेर हामी डा. वैद्यसँग परामर्श गर्ने भनेर सिधै आयौं,’ बिरामीले भनिन्, ‘त्यो बेलादेखि नै डा. वैद्यले यो अवस्था आउन सक्छ भनेर परामर्श दिनुभयो।’
नर्भिक आएपछि बिरामीलाई एमआरआइ गरेर हेर्दा सालले पाठेघरको मांसपेसी छेडेर बाहिर गएको (प्लासेन्टा परसेर्टा) पनि पाइएको डा. वैद्यले बताइन्। यस्तो अवस्थामा कि त गर्भपतन गर्ने, कि गर्भावस्था अवधिभर एकदमै संयमता अपनाउनुपर्ने हुन्छ।
बिरामी पक्षले गर्भपतन नगरी शिशुलाई जन्माउने निर्णय गरेपछि डा. अचलाले उनीहरुलाई निरन्तर निगरानीका लागि अस्पतालनजिकै बस्न सुझाइन्। गर्भवतीलाई २० हप्तादेखि नै पूर्ण रुपमा ‘बेडरेस्ट’ मा बस्न भनिएको थियो। उनी नियमित फलोअपका लागि समेत ह्वीलचियरमा अस्पताल आउने गर्थिन्।
प्राडा वैद्यका अनुसार बिरामीको जटिल अवस्थालाई मध्यनजर गर्दै जुनसुकै समयमा सर्जरी गर्नुपर्ने अवस्था आउने भएकाले अस्पतालमा एनेस्थेसिया र नसिङ कर्मचारी लगायतका सबै चिकित्सकको टोली तयारी अवस्थामै थिए।
२० हप्तादेखि नियमित गर्भ परीक्षण गर्दै डाक्टरको निगरानीमा रहेकी ती महिलाको ३७ हप्तामा सी–सेक्सनमार्फत् प्रसूति गराइ आमा र बच्चाको दुवै बचाउन अस्पताल सफल भएको हो। ‘उहाँको केस अन्य सी–सेक्सनभन्दा फरक थियो, किनकि सर्जरी गरेर बच्चा निकाल्ने ठाउँमा नै उहाँको साल पाठेघरमा फैलिइसकेको अवस्था थियो, यो सर्जरी हाम्रो लागि पनि जटिल थियो,’ डा वैद्यले भनिन्, ‘निकै संयमता अपनाएर सफल प्रसूतिमार्फत् आमा र बच्चा दुवैको ज्यान बचाउँन सफल भयौं।’
प्रसूति गराउने क्रममा ती महिलालाई १० पोका रातो र ३ पोका सेतो रगत चढाइएको थियो भने प्रसूतिपछि ३ दिन आइसीयुमा समेत राखिएको थियो। शल्यक्रिया पछि १० दिन अस्पतालमा राखेर स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको थियो। सालको रोग पाठेघरमा फैलिएकाले प्रसूति गराउने क्रममा अत्याधिक रक्तश्राव भएपछि महिलालाई बचाउँन पाठेघर नै निकालिएको डा. वैद्यले बताइन्।
नर्भिक अस्पतालका अनुभवी र दक्ष चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीको टोली, उच्चस्तरको अप्रेशन थिएटर, आइसीयू र ब्लड बैंकलगायतको सुविधाले जटिल केसमा पनि उपचार सफल भएको डा वैद्यले जानकारी दिइन्।‘यस्तो केसमा विज्ञ टिम, उच्चस्तरको क्रिटिकल केयर तथा आइसीयु, अप्रेसन थिएटर र ब्लड बैंक नभएको अवस्थामा सफल उपचार सम्भव थिएन,’ डा. वैद्यले भनिन्, ‘नर्भिकमा अति विशिष्टिकृत सेवाका लागि सबै सुविधा उपलब्ध भएकाले नै मैले यो बिरामीको सफल प्रसूति गराउँछु भन्ने आँट गरें र सफल पनि भइयो।’
गर्भावस्थामा सालको रोग पत्ता लागे पनि आफू निरन्तर डा वैद्यसँग परामर्शमा रहेका कारण स्वस्थ बच्चालाई जन्म दिन सफल भएको बिरामीले बताइन्। ‘अवस्था जटिल हुन्छ भन्ने थाहा पाएपछि मैले आफूलाई मानसिक रुपमा बलियो बनाउँदै र सकारात्मक विचार बनाएर बसेँ,’ उनले भनिन्, ‘मेरो सबैभन्दा सबल पक्ष नै डा. वैद्य हुनुभयो, उहाँको हातमा रहेपछि म सुरक्षित हुन्छु भन्ने आत्मविश्वास मनमा थियो। मेरो बच्चा र मलाई डा. वैद्यले बचाउँनुभयो।’
डा. वैद्यका अनुसार ती महिलाको यसअघि ३ पटक पाठेघरको शल्यक्रिया गरिएको थियो। पहिलो पटक पाठेघरमा मासु पलाएको उपचारपछि तीन वर्षअघि सी–सेक्सनमार्फत् प्रसूति गराइएको थियो।
यस्तै दोस्रो पटक एक्टोपिक प्रेग्नेन्सी भएकाले शल्यक्रिया गरिएको थियो। पटक–पटक पाठेघरमा समस्या र शल्यक्रिया भएकाले गर्भावस्थामा सालसम्बन्धी जटिल समस्या देखिएको डा. वैद्यले बताइन्।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

