नेपाल प्रहरी अस्पतालका एसएसपी गिरीमाथि भ्रष्टाचारको मुद्धा

काठमाडौँ, ८ पुस । नक्कली शैक्षिक योग्यता पेश गरी प्रहरी सेवामा ओहोदा लाभ र सुविधा लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीबिरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
एसएसपी गिरीले सन् १९८८ मा विहार स्कुल एक्जामिनेसन बोर्ड पटना भारतबाट एसएलसी उत्तीर्ण गरेको भन्दै पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको अख्तियारको दावी छ । अख्तियारले भनेको छ, ‘गिरीले पेश गरेको शैक्षिक प्रमाणपत्रको अभिलेख छैन । उनले पेश गरेको प्रमाणपत्रमा जुन नम्बर छ, त्यो वर्ष गिरीको प्रमाणपत्र भन्दा धेरै कम नम्बरमा प्रमाणत्रहरु छापिएका छन् ।’
गिरीले सोही प्रमाण पत्रको आधारमा विसं २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट पीसीएल नर्सिङ र विसं २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट पोष्ट बेसिक व्याचलर इन नर्सिङ अध्ययन् पुरा गरेका थिए ।
अख्तियारले गिरीको सुरुवाती नियुक्ती नै झुट्टा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरी हालको प्रहरी बरिष्ठ उपरीक्षक पदमा समेत बढुवा लिएको साथै विभिन्न तालीम र सुविधा समेत लिई भ्रष्टाचार गरेको आरोप लगाएको छ ।
विशेष अदालतमा बुझाइएको आरोप पत्रमा अख्तियारले गिरीलाई भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुनुपर्ने माग गरेको छ ।
गिरी आगामी १५ पुस देखि ३० वर्षे सेवा अवधी पुरा गरी अवकाशमा जाँदै थिए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

