५० हजार नेपाली ध्यानमा !

काठमाडौँ, ६ पुस । आर्ट अफ लिभिङको नाम संग जोडिएर आउने मुख्य काम भनेकै ध्यान नै हो । संयुक्त राष्ट्र संघले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रुपमा मनाउने भनेर घोषणा गराउनुमा मुख्य श्रेय पनि यहि संस्थालाई जान्छ ।
आर्ट अफ लिभिङ नेपालले आइतबार आफ्नो सोही पहिचानलाई अक्षुण राख्दै काठमाडौँमा विशेष ध्यान शिविरको आयोजना गरेको छ ।
आर्ट अफ लिभिङका प्रमुख आध्यात्मिक गुरु श्री श्री रवि शंकरले प्रतिपादन गरेको यस संस्थाले काठमाडौँमा मात्रै होईन, देशभर रहेका आफ्ना शाखाबाट सप्ताहव्यापी रुपमा ध्यान शिविरको आयोजना गरेका छन् ।
आर्ट अफ् लिभिङ नेपालका महासचिव प्रभुराज वैद्य भन्छन्, ‘पछिल्लो एक सातामा देशभरका शाखा कार्यालयहरुमा गरेको कार्यक्रममा मात्रै ५० हजार बढी नेपालीले ध्यान गरेका छन् ।’
हुन पनि ध्यानलाई आन्तरिक शान्ति, मानसिक सन्तुलन र सामाजिक सद्भाव प्रवद्र्धन गर्ने माध्यमका रुपमा गतवर्ष देखि विश्वव्यापी रुपमा मनाउन थालिएको हो ।
बढ्दो क्रममा रहेको मानसिक स्वास्थ्य समस्या नियन्त्रणका लागि ध्यानको भूमिका महत्वपूर्ण : स्वास्थ्य मन्त्री डा. शर्मा
यसैबीच, विश्व ध्यान दिवसको अवसर पारेर आर्ट अफ लिभिङ नेपालले आइतबार काठमाडौँको शंखमुलमा विशेष ध्यान कार्यक्रमको आयोजना गरेको छ । ध्यान शिविरको उद्घाटन गर्न स्वास्थ्य मन्त्री डा. सुधा गौतम शर्मा पुगेकी थिईन् ।
सो क्रममा उनले आधुनिक जीवनशैली, तनाव, चिन्ता र अरु मानसिक समस्याका कारण मानिसमा मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा रहेको भन्दै यस्ता ध्यानले रोकथाम र नियन्त्रणमा विशेष सघाउ पुराउनु पर्ने बताईन् ।
उनले मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न अंगका रुपमा बुझ्नु पर्नेमा जोड दिदै सरकारले मासिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न नीति तथा कार्यक्रम मार्फत प्राथमिकता दिईनै हरेको जानकारी दिईन ।
कार्यक्रममा आर्ट अफ लिभिङ नेपालका अध्यक्ष शिद्धेश्वरकुमार सिंह, महासचिव प्रभुराज वैद्यले पूर्वीय दर्शन, ध्यान र योगको महत्वबारेमा धारणा राखेका थिए ।
महासचिव वैद्यका अनुसार आर्ट अफ लिभिङ नेपालले यसबीचमा विद्यालय, कलेज, शैक्षिक संस्था, सरकारी तथा निजी कार्यालय, प्रहरी र नेपाली सेनाका ईकाई तथा सामुदायिक केन्द्रमा ध्यान सत्र सञ्चालन गरेको थियो । सो क्रममा एक हजार बढीले निर्देशित ध्यान अध्यास समेत पुरा गरेका छन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 