सोलुमा बृहत मुटु स्वास्थ्य शिविर, २ हजार ४५६ जनाको भयो स्वास्थ्य परीक्षण

सोलुखुम्बु, ३ पुस । स्थानीय तहमा पुगेर मुटु रोगको परीक्षण तथा उपचार गर्ने योजनाको साथ काठमाडौँबाट सोलुखुम्बु पुगेको मुटु विशेषज्ञहरु तथा स्वास्थ्यकर्मीको टोली कार्यसम्पन्न गरि फर्किएको छ ।
नेपाल हार्ट फाउण्डेशन, रोटरी क्लव अफ पाटन, मेडिकेयर अस्पताल र चेपेल फाउण्डेशनको आयोजनामा गत २९ मंसिर र १ पुसमा गरिएको उक्त शिविरमा २ हजार ४५६ जना बालबालिकाको मुटु परीक्षण गरिएको हो ।
चिकित्सक टोलीको नेतृत्व गरेका डा प्रकाशराज रेग्मीका अनुसार सोताङ गाउँपालिकाको वडा नम्बर १,२,३ र ५ मा सम्पन्न मुटु शिविरमा १२० जनाको इको परीक्षण गरिएको थियो । उनले शिविरमा १५ वटा विद्यालयका विद्यार्थीहरुको मुटु परीक्षण गरिएको जानकारी दिए ।
बरिष्ठ मुटुरोग विशेषज्ञ समेत रहेका डा रेग्मीले भेटिएका मुटुरोगी मध्ये उच्चरक्तचाप ७० प्रतिशत, दमखोकी ५० प्रतिशत र मधुमेह १५ प्रतिशत भएको पाइएको बताए । उनले जन्मजात मुटुरोग ८ प्रतिशत, पेट सम्बन्धि रोग ३० प्रतिशत, बाथमुटुरोग ५ प्रतिशत पाइएको उल्लेख गरे ।

मुटुरोग शिविरमा मुटुरोग विशेषज्ञ डा. रेग्मी सहित डा. उर्मिला शाक्य, डा. प्रेमराज वैद्य, डा. अजय अधिकारी, डा. एन्जेला वैद्यले परीक्षण गरेका थिए ।
मंसिर २९ र पुस १ गते सम्पन्न शिविरका लागि बिरामीहरुलाई लोमस फर्मास्युटिकल्सले पाँचलाख बराबरको औषधी निःशुल्क रुपमा वितरण गरिएको थियो ।
शिविरमा मुटु सम्बन्धी सम्पूर्ण परीक्षण, निःशुल्क उपचार तथा परामर्श सेवा प्रदान गरेको सोताङ अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर बिकेश श्रेष्ठले जानकारी दिए । शिविरमा मुटुको ईसीजी, रक्तचाप परीक्षण, प्रारम्भिक मुटु जाँच, औषधि वितरण तथा आवश्यक परामर्श सेवा उपलब्ध गराइएको थियो। डा. श्रेष्ठका अनुसार शिविरबाट वडा नम्बर १, २, ३ र ५ का नागरिकहरू बढी लाभान्वित भएका छन्।
ग्रामीण भेगमा बसोबास गर्ने नागरिकहरूलाई विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको उनले बताए । त्यस्तै, वडा नम्बर ४ का नागरिकहरू तथा विद्यालयका विद्यार्थीहरूलाई समेत समेट्ने उद्देश्यले शिविर आज पनि निरन्तर रूपमा सञ्चालन भइरहेको छ। विद्यार्थी तथा किशोर–किशोरीहरूमा बढ्दो मुटु सम्बन्धी जोखिमलाई ध्यानमा राख्दै उनीहरूलाई पनि जाँच तथा सचेतना प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

सहकार्य गर्ने संस्थाहरूले प्राविधिक सहयोग, चिकित्सक टोली, औषधि तथा आवश्यक उपकरणको व्यवस्थापन गरेका छन्। स्थानीय बासिन्दाहरूले निःशुल्क रूपमा विशेषज्ञ मुटु सेवा पाउँदा खुसी व्यक्त गर्दै आयोजक संस्थाप्रति आभार प्रकट गरेका छन्।
स्वास्थ्य सेवामा पहुँच सीमित रहेका दुर्गम क्षेत्रका नागरिकहरूका लागि यो शिविर निकै उपयोगी बनेको छ भने मुटु रोगको समयमै पहिचान र उपचारमा समेत महत्वपूर्ण योगदान पुगेको स्थानीयहरुको भनाइ छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

